काठमाडौं - सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । 

कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले कालोसूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ । 

कार्यालयका अनुसार विराटनगरस्थित एसएएस कन्स्ट्रक्सन प्रालिलाई तीन वर्ष कालोसूचीमा राखिएको छ । 
 
त्यसैगरी, कार्यालयले नागार्जुन शङ्करमाली जेभी, शङ्करमाली निर्माण सेवा प्रालि, वाई पी कन्स्ट्रक्सन र रफिना कन्स्ट्रक्सनलाई एक वर्ष तीन महिनाका लागि कालोसूचीमा राखेको छ ।

त्यस्तै, धुलिखेल–युनिकर्ण जेभी र युनिकर्ण कन्स्ट्रक्सन, फेवा नेपाल प्रालि इटहरी, कन्या कालिका स्टील फर्निचर, ओम शान्ति निर्माण सेवा भद्रपुर, रेडलाइन कन्स्ट्रक्सन कम्पनी प्रालि वीरगञ्ज, सेफ मेटल कन्स्ट्रक्सन प्रालि वीरगञ्ज, सिरुवा कन्स्ट्रक्सन, कविर कन्स्ट्रक्सन, र सुनकोसी कन्स्ट्रक्सन नेपाल प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।