काठमाडौं - नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यंगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई सेवा सञ्चालनको लागि पहल गरेको छ। 

बौद्ध धर्मावलम्बी भएको देश म्यानमारबाट सीधा उडान गर्न सके लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सहयोग मिल्ने अपेक्षासहित बोर्डले नेपालका लागि म्यानमारका राजदूत र म्यानमारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेसनल एयरलाइन्सका कार्यकारी प्रमुखसहित सरोकारवालासँग काठमाडौंमा उच्चस्तरीय छलफल गरेको छ। छलफलका क्रममा नेपाली पक्षले म्यानमारबाट भैरहवा सीधा उडानका लागि म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताउँदै म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। 

छलफल कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष मैत्य शाक्यले नेपाल र म्यानमारबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सीधा उडान भए लुम्बिनीमा पर्यटक बढ्ने बताए।  मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले म्यानमार नेसनल एअरलाइन्सले गौतमबुद्ध विमानस्थलमा उडान गर्न नेपालको तर्फबाट विभिन्न छुट, सुविधा तथा अन्य आवश्यक सहयोग गर्न तयार रहेको बताए। उनले सीधा उडान गर्न सकेमा दुवै देशले पर्यटनका माध्यमबाट फाइदा लिन सक्ने पनि सुझाए।  

यस्तै म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले म्यानमार भैरहवा सीधा उडानबारे म्यानमारको सरकारी पक्षसँग संवाद भइरहेको सन्दर्भमा म्यानमारको टोली नै नेपाल आउनुले उडानको लागि थप बल पुग्ने विश्वास व्यक्त गरे। 

यस्तै नेपालका लागि म्यानमारका राजदूत सेन ओले सीधा उडान गर्नेबारे आफूहरू सकारात्मक रहेको उल्लेख गर्दै यसको प्राविधिक पक्षको अध्ययन पछि नयाँ सम्भावनाबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे।