काठमाडौं - शान्तिबाटीकाभित्र धर्ना बस्दै आएका मिटरब्याजी पीडित र प्रहरीबीच झडप भएको छ । 

शान्तिबाटीकाभित्र धर्ना बस्दै आएका मिटरब्याजी पीडित प्रदर्शन गर्दै भद्रकाली जान खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झडपका क्रममा ९ जना मिटरब्याजी पीडित घाइते भएका छन्। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। अधिकांश घाइतेहरूको टाउको र शरीरका विभिन्न अंगमा चोट देखिएको छ।

मिटर ब्याज तथा ठगिविरुद्ध किसान मदजुर संघर्ष समितिका उपाध्यक्ष कूलबहादुर थापा, नवलपरासीका अकबर मियाँ, इलामका लोकनारायण सुवेदी, सर्लाहीको कृष्णनन्द महतो, ओखलढुंगाको प्रदिप नेपाल, नवलपरासीको तीलराम चौधरी,  बालाजुका सिताराम तामाङ, रुकुमका यमकुमारी टडेल, सिरहाको देवी देविशाको ट्रमा सेन्टरमा उपचार भइरहेको हो।

केही मिटरब्याजी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झडपमा केही प्रहरी घाइते भएको बताइएको छ।

भीड तितरवितर पार्न प्रहरीले लाठिचार्ज र अश्रुग्याँस समेत प्रहार गरेको छ। प्रहरीले सबै मिटरब्याजी पीडितलाई धर्नास्‍थलबाट बाहिर निकालेको छ।