काठमाडौं - उदयपुरका एक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काठ चोरी गर्दै गर्दा पक्राउ परेका छन्। 

उदयपुरको त्रियुगा नगरपालिका-५ को अम्बिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लिलबहादुर ग्रन्जामगर जंगलमा काठ चोरी निकासी गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन्। 

डिभिजन वन कार्यालय गाईघाटबाट खटिएको टोलीले अवैध सालको गोलिया र ट्याक्टरसहित पक्राउ गरेको हो। स्थानीयले दिएको सूचनाका आधारमा ५ थान गोलियाको ४०.१६ क्यूवफिट सालको काठसहित स १ त ७०४८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले बताए। 

त्रियुगा–५ दमौतिको कोरिया खोलाबाट आइतबार ११ बजे अवैध कटान भइरहेको सूचनाका आधारमा समूहका अध्यक्ष र काठ ढुवानी गर्न प्रयोग भएको ट्याक्टरलाई वन कर्मचारीको टोलीले पक्राउ गरिएको उनले बताए। 

साहका अनुसार अध्यक्ष मगरलाई वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।