काठमाडौं - २४ घण्टादेखि राजमार्ग छेकेर मुग्लिनमा धर्ना बसेका लघुवित्त पीडितमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । 

प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रदर्शनकारी तितरवितर गराउन दुई सेल अश्रुग्याँस प्रहार गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले बताए । 

अश्रुग्याँस प्रहारपछि भीड तितरवितर हुँदा एकजना घाइते भएका छन् । उनको स्थानीय हाइवे अस्पतालमा उपचार भइरहेको छ ।

लघुवित्त पीडितले सोमबार बिहान १० बजेदेखि पृथ्वीराजमार्ग छेकेर प्रदर्शन गरिरहेका थिए । राजमार्गमा धर्नाका कारण मुग्लिनहुँदै काठमाडौं, पोखरा, चितवन जाने यात्रुहरू हैरान भएका थिए ।

विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारी आइतबारदेखि सडकमै पकाउने, खाने र सडकमै सुत्ने गरेका छन् ।