लोकानन्द गौतम, काठमाडौं –  लोकमा प्रचलित एउटा उखान छ “अध्र्यौली नगर्नु पुख्र्यौली नछोड्नु ।” अथवा “आगो ताप्नू बुढाको अर्ती सुन्नु बुढाको ।”
संसारको इतिहातलाई नियाल्दा जहाँ ज्येष्ठ नागरिकको सम्मान हुन्छ त्यही राष्ट्रको समृद्धि हुन्छ । तर, जहाँ जेष्ठ नागरिकको अपमान हुन्छ त्यहीँ राष्ट्रको दुर्गति हुन्छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेका थिए “मेरा स्याना दुःखले आज्र्याको मुलुक होइन सबलाई चेतना भया ।” पश्चिम किल्ला काँगडा र पूर्व टिष्टासम्म नेपालको सिमाना बिस्तार गर्ने काम पृथ्वीनारायण शाहले गरेका थिए । तर, आज हामी तिनैको र तिनका सन्ततिको मूर्ति फोड्न इच्छुक हून्छौं । त्यहीं हामी आफ्नो बहादुरी ठान्दछौं । यस्तै हो  भने हाम्रो ज्येष्ठ नागरिकप्रतिको दृष्टिकोण कस्तो होला ? भन्ने प्रश्नको जवाफ स्वयम सिद्ध छ । प्रजातन्त्रको जननी मानिने बेलायतमा आज पनि त्यहाँ लिखित संविधान छैन । त्यहीँ ज्येष्ठ नागरिकहरुका भनाईलाई अथवा–आप्त परिमार्जित वाक्यहरुलाई संविधैनिक मान्यता प्रदान गरिदै आएको छ । जापान, अमेरिका लगायतका विभिन्न बिकासित राष्ट्रहरुमा ज्येष्ठ नागरिकहरुप्रति गरिने व्यवहार बेग्लै प्रकारको छ । त्यहाँ ज्येष्ठ नागरिकहरुप्रति सम्मानजनक भावना राखिन्छ । तर, दुर्भाग्यवश हाम्रो देश नेपालमा ज्येष्ठ नागरिकलाई बोझको रुपमा मान्ने पृवृत्तिको विकास हुँदै गएको छ । 


पश्चिमी सभ्यताको (प्रविष्टि) आयात नेपालमा दिन प्रतिदिन बढ्दै गएको छ । बा–आमाहरु आफ्नो घरबाट बृद्धाश्रम तर्फ सर्दै गइरहेका छन् । उनीहरुलाई निर्माण गरेको घरबासहरु आज (प्रवास) युद्ध भूमिको मैदान जस्तै खण्डहर बनेका छन् । गरीबवर्गका सन्तानहरु साउदी, कतार, मलेसिया, खाडी मुलुकहरु र भारतमा शिला टिप्तै छन् । धनीवर्गका सन्तानहरु अमेरिका, क्यानडा, बेलायत, जर्मन र जापानतिर बसाईँ सार्दै छन् । यस्तो प्रवृत्ति यदि दिनप्रतिदिन गढ्दै जाने हो भने कहाँ रहन्छ राष्ट्र अनि राष्ट्र र राष्ट्रियताको हाल कस्तो होला ? हामी आफैले अनुमान गरौँ । 


भगवान रामचन्द्रले लङ्का विजय गरेपछि प्रिय भाइ लक्ष्मणलाई सम्झाउँदै भनेका थिए “आफुलाई जन्म दिने आमा र आफु जन्मेको भूमि स्वर्गभन्दा महान हुन्छ ।” तर आज उक्त आदर्श केवल धर्मपूराणमा मात्र सिमित रहने भएको छ । व्यवहारमा लागू भएको कतै देखिदैन । 


हामी समान्य घरपरिवारमा हेरौँ, जहाँ बाबुआमाको आज्ञापालन हुन्छ, त्यो घरपरिवार समुज्वल र सक्षम बनेको देखिन्छ । तर, जहाँ बाबुआमालाई रुवाइएको छ त्यो घरपरिवार सुख र विकासभनदा विनाशतर्फ अगाडि बढेको देखिन्छ । त्यस घरपरिवारमा कुलक्षण बढिरहेको पाइन्छ । सुलक्षणको सर्वथा अभाव खड्किएको पाइन्छ । त्यस्ता घरहरुमा रोग, भोग, अशिक्षा र गरिबीको ताण्डवनृत्य बढिरहेको देखिन्छ ।


परिवारमा इष्ट–मित्रहरुको आगमन घट्दोक्रममा बढीरहेको देखिन्छ । स्वजनहरुको शुभाशीषको त्यस्तो घरमा सर्वथा अभावको अनुभूति हुन थालेको छ । हाम्रो सनातन हिन्दू धर्मानुनार ज्येष्ठ नागरिकहरु भगवान सरह पुज्य मानिन्छन् । तसर्थ, प्रत्येक बर्ष विजयादशमीको दिन हामी बाबाआमा दाजु भाउनु र मान्यजन अथवा अन्य ज्येष्ठ नागरिकहरुबाट शुभाशीषसहित टीका ग्रहण गर्नेगर्छौ । यो हाम्रो सनातन हिन्दु परम्परा नै हो । दुर्भाग्यबश आज हामी आधुनिक सभ्यताको चपेटामा थिचिएर, किचिएर, मिचिएर आफ्नो स्वगत परिचान गुमाउँदै आएका छौं । के हामीले आफ्नो पुख्यौली सम्भता बिर्सेका हौं ? भन्ने प्रश्न आफुले आफैलार्य सोधनी किन नगर्ने ? पुर्खाको सम्पत्तिमा राज गर्ने तर पुर्खाप्रति सम्मान जनक व्यवहार नगर्ने यो हाम्रो कस्तो संस्कृति भनौं कि विकृति भनौ । यस्ता विकृति दिनप्रतिदिन बढ्दै गएको छ । यदि यही विकृतिले निरन्तरता पाउँदै गयो भने भोलिका सन्ततिहरुबाट ज्येष्ठ नागरिकहरुले के आशा राख्ने ? भविष्यमा भयावह परिस्थितिको सामना गर्नुपर्ने अवस्थाको सिर्जना हुदै गरेकोछ भन्ने कुरामा कुनै द्विविधा छैन । यहि समस्यालाई मध्यनजर गर्दै ज्येष्ठनागरिक सरोकार समाजहरुले आज देशभरिका विभिन्न स्थानहरुमा ज्येष्ठ नागरिकलाई सम्मान र सेवा गर्नुपर्छ भन्न भावनाको जागरण गराउदै आएका छन् । सरकारले ज्येष्ठ नागरिकको सम्मानको लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । तर प्रयाप्त छैन । सार्बजनिक यातायात, अस्पताल आदि ज्येष्ठ नागरिक ऐनले विभिन्न सुविधा दिने व्यवस्था गरे पनि ज्येष्ठ नागरिकले प्राप्त गर्न सकेका छैनन् । सरकारले सम्मान गर्ने परिपाटीको विकास गर्दै आए पनि उक्त ऐनको कार्यान्वन गर्न सकेको छैन ।  


सेनानिवृत्त राष्ट्रसेवक शिक्षक, कर्मचारी, चिकित्सक, प्राविधिक आदि सबैको ज्ञान सीप र अनुभवलाई राज्यले सदुपयोग गर्न सक्यो भने निश्चित रुपले देशले नयाँ काँचुली फेर्ने छ । यो कुरामा सन्देह गर्ने कुनै सवाल छैन । ज्येष्ठ नागरिकहरु अनुभवका खानि हुन् । उनीहरुको सुझाव अनुसार कुनै पनि घरपरिवारले घरको धनदौलतलाई संरक्षण गर्न सक्यो भने भात्र त्यो घरको सर्वाङीण विकास हुनेछ । अन्यथा विकासको परिकल्पना गर्न सकिनै छैन । 
ज्येष्ठ नागरिक हामी सबैको घर, परिवार, समाज र सिङ्गो राष्ट्रका आदर्श हुन् । हामीले आफ्नो आदर्शलाई जोगाई राख्नको लागि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने प्रवृत्तिको विकास गर्नु पर्छ । उनीहरुको समृद्धिको थालनी हामीले आफ्नो घरपरिवारबाट गर्नुपर्छ । त्यसपछि ज्येष्ठ नागरिकप्रतिको सम्मान नै समृद्ध नेपाल र सुखी नेपालीको मूल आधार बन्न जानेछ । निष्कर्षमा भन्नुपर्दा ज्येष्ठ नागरिक हाम्रो राष्ट्रका अमूल्य सम्पत्ति हुन । तसर्थ, यिनको आयु, ऐश्वर्य, व्यक्तित्व आदिको सन्तुलित विकासको निमित्त राष्ट्र समयमै सचेत बन्नुपर्छ ।