काठमाडौं – मानिस स्तनधारी प्राणी हो । स्तनधारीको प्रमुख लक्षणहरूमध्ये शरीर रौंले ढाक्नु पनि एउटा हो । जसरी चराहरूको शरीर प्वाँखले ढाकेको हुन्छ, माछाको शरीर कत्लाले ढाकेको हुन्छ, त्यस्तै मानिसको शरीर रौंले ढाकेको हुन्छ । हत्केला र पैताला बाहेक शरीरको सम्पूर्ण भागमा रौं उम्रेका हुन्छन् । हाम्रा प्राग– ऐतिहासिक पुर्खाहरूको शरीर बाक्लो रौंले ढाकेको थियो । त्यसकै अवशेषको रूपमा हाम्रो शरीरमा पनि रौं रहेका हुन् । 

आमाको कोखमा बच्चा (भ्रुण) विकसित भएको एक सय दिनसम्ममा बाक्लो रौंले ढाकिसकेको हुन्छ । त्यसपछि अर्को एक सय दिनमा ती रौँहरू झरिसकेका हुन्छन् । (यसबेला उम्रेका रौंलाई भ्रुण राँ भनिन्छ । बच्चा जन्मिने बेला फेरि मसिनो खालको रौँ उम्रिसकेका हुन्छन् । १२ देखि १३ वर्षको उमेरमा जब बच्चा (केटा वा केटी) तरुण अवस्थामा प्रवेश गर्छ तब फेरी अन्तिम प्रकारका रौं निस्कन्छ जुन रौं पछिसम्म रहन्छ ।
 
यसरी तेस्रो चरणमा उत्पत्ति हुने रौंलाई लैंङ्गिक रस अर्थात् सेक्स हर्मोनले प्रभाव पारेको हुन्छ । पुरूषहरूमा पुरूष हर्मोनको प्रभावले अनुहारमा बाक्लो कालो रौं जस्तैः जुँगा, दाह्री आउँछ भने कपालको रौंको वृद्वि कम हुन्छ । स्त्रीहरूमा स्त्री हर्मोनले ठीक उल्टो प्रभाव पार्छ । अर्थात् अनुहारमा रौँ बाक्लो हुँदैन तर कपाल छिटो बढ्छ । तर तिनै हर्मोनको प्रभावले काखीमा पनि रौं उम्रने हुन्छ । रौं किन आवश्यक छ भन्ने कुरा त थाहा पाउन सकिएको छैन । तर दाह्री र जुँगाले पुरूष र स्त्री जातिका मानिस छुट्याउन सजिलो पार्छ । नाक, कान, आँखी भौं र परेलीका रौंले धुलोका कण र कीरा फट्याङ्ग्राबाट ती अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ । पानी पर्नेबेला पानीलाई आँखामा सिधै झर्न नदिन अर्थात् पानी तर्काउने काममा आँखी भौंको रौंले मद्दत गर्छ ।