काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदले पदभारग्रहण पछि मन्त्रालयमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को भारत भ्रमणबारे तयारी थाल्ने बताएका छन् । परराष्ट्रमन्त्री साउदले मन्त्रालयका अधिकारीसँग छलफल गरेर भ्रमणबारे तयारी थाल्ने बताएका हुन् ।
साउदले भने, मन्त्रालयका कर्मचारीसँग सुरुमा ब्रिफिङ लिन्छु । त्यसपछि हामी छलफल अगाडि बढाउछौं । प्रधानमन्त्रीको भारत भ्रमणबारे तयारी गरिरहेका कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउँछु उनले भने ।’ साथै साउदले आगामी दिनमा छिमेकी र विश्वभरीका देशको सम्बन्धलाई घनिष्ट र सौहार्दपूर्ण बनाउँदै लैजाने बताएका छन् ।
को हुन त एन. पी. साउद ?
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका साउद पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रसमेत मानिन्छन् । सभापति देउवाकै गृहजिल्ला डडल्धुरामा विसं २०१९ साल श्रावण २५ गते बिहीबार जन्मेका साउद हाल कञ्चनपुरका स्थायी बासिन्दा हुन् । स्वर्गीय खड्गसिंह साउद र स्वर्गीय कौशिल्या देवी साउदका छोरा रहेका मन्त्री साउद हाल कञ्चनपुरको शु्क्लाफाँटा नगरपालिका–६ का स्थायी बासिन्दा हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र र समाजशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका साउदले सन् १९८० देखि कांग्रेसको भातृसंगठन नेपाल विधार्थी संघबाट राजनीतिको सुरुवात गरेका हुन् । नेविसंघको क्याम्पस सचिव, केन्द्रीय सदस्य रहँदै साउद नेविसंघको केन्द्रीय सभापतिसमेत भइकेका छन् । सन् १९९४ मा पहिलो पटक संसदीय यात्रा सुरु गरेका साउद संसद्को सार्वजनिक लेखा समिति सदस्यरहँदै संसदका विभिन्न समितिहरुमा रहिसकेका छन् ।
साउद सन् २००१ देखि २००२ सम्म शिक्षा तथा खेलकुद राज्यमन्त्री बनेका थिएभने सन् २०१४ देखि २०१६ सम्म सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
0 comment