काठमाडौं - सांसद् तोसिमा कार्कीले चिकित्सा शिक्षातर्फ भर्ना प्रक्रिया अस्तव्यस्त बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

संसद्को आकस्मिक समयमा बोल्दै सांसद् कार्कीले भनिन्, ‘स्नातकोत्तर तहको विद्यार्थी भर्ना प्रक्रियामा म्याचिङ प्रणालीमा योग्यताक्रम मिचिएको छ । अदालतबाट उचित आदेश प्राप्त भयो तर,पनि भर्ना प्रक्रिया सच्याइएको छैन । राष्ट्रिय चिकित्सा शिक्षा ऐनको परिच्छेद ६ को दफा १६ र १७,चिकित्सा शिक्षा नियमावलीमा योग्यताक्रम अनुसार भर्नाको स्पष्ट व्यवस्था छ । एकीकृत प्रवेश परीक्षाको मुल मर्म नै जान्नेलाई छान्ने हो ।’

त्रुटिपूर्ण कार्यविधिले कम अंक ल्याउने विद्यार्थीले छात्रवृत्ति पाउने, रोजेको विषय र शिक्षण संस्था पाउने तर, बढी अंक ल्याउने विद्यार्थीले भने छात्रवृत्ति पनि नपाउने र शिक्षण संस्था पनि रोज्न नपाउने अवस्था सिर्जना भएको बताइन् ।

उनले भनिन्,‘नियमावली र ऐनको मर्म मिचिएको छ । त्यसकारण कम्प्युटर बेस्ड प्रणालीमा म्याचिङ गर्नुपर्छ । तसर्थ भर्ना प्रक्रिया सच्याइयोस् ।’