काठमाडौं - केही दिनदेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण काठमाडौं विश्वकै दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको छ ।
डढेलोकै कारण काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ ।
विभागका अनुसार अहिले काठमाडौं उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको जनाएका छन् । आज बिहान ९:३० बजेको हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार काठमाडौं विश्वकै दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको छ ।
एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । काठमाडौँको एक्यूआई अहिले १९२ छ । सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको जनाइएको छ । च्याङमाइको एक्यूआई २२२ छ । यसैगरी तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ ।
एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ ।
0 comment