काठमाडौं – परमाणु बम वास्तवमा एउटा अनियन्त्रित आणविक भट्टी हो । यो बम ज्यादै ज्वलनशील र विस्फोटक किसिमको विभाजन हुनसक्ने पदार्थ युरेनियम र प्लुटोनियमबाट बनाइन्छ । बममा यी पदार्थलाई स–सानो खण्डमा विस्फोटन नहुने ढङ्गले राखिएको हुन्छ र तिनलाई विस्फोटक अवस्थामा ल्याउनसाथ लहरै प्रतिक्रिया हुन थाल्दछ र आँखा झिमिक्क गर्न नपाउँदै ठुलो विस्फोट भई त्यस क्षेत्रमा एकैचोटी लाखौँ डिग्री सेल्सियस तापक्रम बढ्न पुग्छ । बमको सबै भाग ग्याँसमा परिणत हुन्छ, जसको चाप वायुमण्डलको भन्दा लाखौँ गुणा बढी हुन्छ र वरपरको हावालाई चाप्दै यो तीव्र गतिमा फैलिन थाल्दछ ।  

विस्फोटनको  बेलामै  आगोको ज्वाला निस्केको हुन्छ र उतिखेरै आगोको विशाल भकुण्डो अति तातो हावा सँगसँगै निस्कन्छ । आगोको यो भकुण्डोबाट शक्तिशाली विकिरणहरु उत्पन्न हुन्छन् । साथै परमाणविक प्रतिक्रिया भएको ठाउँबाट पनि त्यतिकै शक्तिशाली न्युट्रन र गामा विकिरणहरु निस्कन्छन् । विस्फोटनको पछिल्लो अवस्थामा तातो ग्याँस र विकिरणहरुबाट रङ्गीन मुस्लो बन्छ । २–३  मिनेटभित्रै यो केही किलोमिटर माथि उठ्छ र च्याउको छाता वा बादल जस्तो देखिन्छ । विस्फोटकबाट पैदा भएको उच्च ताप र यसबाट निस्केको कडा विकिरणहरु वनस्पति र जन्तु जनावरहरुको  शरीरभित्र पस्नाले ठूलो धनजनको क्षति हुन जान्छ ।

एक किलोग्राम युरेनियमले २३५ ले झण्डै २० हजार मेगावाट प्रतिघण्टा बराबरको ताप उत्पन्न गर्दछ । जुन ३० लाख टन कोइला बाल्दा निस्कने ताप बराबर हुन  आउँछ । एटम बम किन त्यति बिघ्न विध्वंसकारी भएको भनेर यसबाट सहजै अनुमान लगाउन सकिन्छ ।