काठमाडौं – विद्युत महशुल ठगी गर्ने सोना सिमेन्टको लाईन नेपाल प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जबाट आएको टोलीले काटिदिएको छ ।
विद्युत महशुल बुझाउन बारम्बार ताकेता गर्दा समेत अटेरी गर्ने सोनापुर सिमेन्ट प्रालिमा जोडिएको विद्युत् लाइन काटिएको हो । राजनीतिक संरक्षणका आडमा महशुल बुझाउन विद्युतले गरेको पत्राचारलाई अवज्ञा गर्ने सिमेन्ट उद्योगको लाइन काटिएको छ ।
नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले सोनापुर सिमेन्टको लाइन काटन नसकेपछि नेपाल प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जबाट आएको टोलीले लाइन काटेको हो । घोराहीले लाइन काट्न नसकेपछि डिभिजन प्रमुख हरिप्रसाद पाण्डेको निर्देशनमा विद्युत लाइन काटिएको हो ।
विद्युत प्रयोग गरे बापत सोनापुर सिमेन्टले ७२ करोड ७० लाख ८६ हजार ५ सय १३ रुपैयाँ ८५ पैसा नबुझाएपछि चैत्र २९ गते लाइन काटेको घोराही वितरण केन्द्रका निमित्त प्रमुख डिल्ली आचार्यले जानकारी दिनुभयो । तुलसीपुरको दुधरासमा रहेको सिमेन्ट उद्योगले २०७७ देखिको बक्यौताका तिर्न पटकपटक आग्रह गर्दा पनि उद्योगबाट कुनै सुनुवाइ नभएपछि लाइन काट्नुपरेको आचार्यले जानकारी दिनुभयो । यद्यपि तत्काललाई १० करोड रकम जम्मा गरेमा लाइन जोडीदिने वितरण केन्द्रले जानकारी दिएको छ ।
सोनापुर सिमेन्टका महाप्रबन्धक हरि पाठकले विद्युत महशुल नबुझाउनेमा आफ्नो उद्योग १० औ नम्बरमा भएपनि सबैभन्दा अघि सोनापुरको लाइन काटिएको भन्दै आपत्ती प्रकट गरेकाछन् । घोराही सिमेन्टको एक अर्ब भन्दा बढि रकम भएपनि उसको नकाटेर आफ्नो काटेको पाठकको गुनासो छ । तर विद्युत खपत गरे वापत महशुल बुझाउन आफहुरु तयार रहेको र आइतबार नै बुझाएर लाइन जडान गर्ने बताउनुभयो । सोनापुर सिमेन्टको फागुन महिनाको मात्रै २ करोड १६ लाख र चैत्र महिनामा १ करोड २४ लाखको बिल आएको छ । उद्योगले डेडिकेटेड लाइन र ट्रङलाइन जोडेको छ ।
प्राधिकरणले सिमेन्ट उद्योगको लाइन काटेपछि सिमेन्ट र क्लिङ्कर उत्पादन बन्द भएको छ । उद्योगले दैनिक १२ सय टन क्लिङ्कर र ३० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आइरहेको छ ।
0 comment