काठमाडौं – शनबिार गढीमाईमा बाटो विस्तार गर्ने क्रममा झडप हुँदा गोली लागेर एक स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको हो । 

धोबिनिया टोलको साँघुरो बाटोलाई गढीमाई नगरपालिकाको योजनामा चौडाइ गर्ने क्रममा स्थानीय दुइपक्षबीच विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ । केही दिन अघिदेखि बाटो विस्तार गर्ने क्रममा स्थानीय रामइश्वर राय र राजकुमार यादव पक्षबीच विवाद हुँदै आएको थियो । दुबै पक्षले आफ्नो जग्गा बाटोमा पर्न नहुने भन्दै विवाद गर्दै आएका थिए ।

गोली चलाएको घटनामा प्रहरीले गढिमाई नपाबाट १६ जनालाई पक्राउ गरेको छ । शनिबार बाटो विस्तार गर्ने विषयमा गढीमाई नगरपालिका–८ धोबिनियामा विवाद हुँदा गोली लागेर ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो ।

घटनामा संलग्न भएको आशंकामा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगाएत १६ जना पक्राउ परेका छन् । उक्त घटनामा निरन्जन राय यादव, प्रताप यादवसहित ४ जना घाइते भएका थिए । सो घटनामा संलग्न भएको आरोपमा गढीमाईका १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले  जानकारी दिएका छन् ।