काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भएका हुन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गत सोमबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए ।
राजदूत श्रीवास्तव अघिल्लो साता प्रधानमन्त्री दाहालको भ्रमणको चाँजोपाँजो मिलाउन दिल्ली गएका थिए । आइतबार दिल्लीबाट फर्किएलगत्तै राजदूत श्रीवास्तवले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए ।
प्रधानमन्त्री भएलगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको निम्तो दिएका थिए । तर, राष्ट्रपति निर्वाचन, फेरिएको सत्ता गठबन्धन, मन्त्रिमण्डलको पूर्णतालगायतका आन्तरिक समस्याका कारण प्रधामन्त्री दाहालको भारत भ्रमण ढिला भइरहेको थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको मिति टुंग्याउने छ ।
भारतले समेत आन्तरिक समस्या हल भएपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण गराउने भन्दै उचित समय पर्खिरहेको थियो । सरकारले लगभग पूर्णता पाएको र आन्तरिक समस्याहरू समाधानतर्फ उन्मुख भएको महशुस गरेपछि भारतले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिएको हो । परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरू गरेको छ ।
0 comment