काठमाडौं - नेपाल बार एशोसिएसनले दस दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न अल्टिमेटम दिएको छ।
बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले दस दिनभित्र प्रधानन्यायधीश नियुक्त नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिए। उनले पेशी पूर्णरूपमा स्वचालित प्रणालीबाट हुनुपर्ने समेत माग गरे।
उनले भने, 'दिनानुदिन न्यायपालिकामाथि हेपाहा प्रवृत्ति कायम राखिएको छ। प्रधानन्यायाधीश नियुक्त नभएको वर्षौं भइसक्यो। पूर्वप्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाइयो। त्यसको सुनुवाई अहिलेसम्म भएन। देशमा न्यायपालिका छैन? राजनीतिज्ञ छैनन्? कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेयको दृष्टिकोणले हेर्यो भन्ने बुझेका छौं।'
उनले अहिले पनि न्यायाधीशहरूको नियुक्ती बाँकी रहेको र न्यायपालिकामा बिसंगती मौलाएको भन्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। न्यायपालिकामाथि यस्तै हस्तक्षेप रहे टुलुटुलु हेरेर बस्न नसकिने भन्दै उनले दस दिनपछि आन्दोलनमा जाने बताए। 'हामी अहिले पनि आन्दोलनमा जान सक्छौं। तर संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्रीजी हुनुहुन्छ। उहाँसँग नभेटी आन्दोलनमा नजाऔं भनेका हौं,' उनले भने।
उनले भोलि (बिहीबार) प्रधानमन्त्रीलाई भेट्ने बताए। घिमिरले लामो समयदेखि सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीश रिक्त रहेको, उच्च अदालत र जिल्लामा समेत न्यायाधीश खाली रहेकाले संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताए।
0 comment