काठमाडौं - एभरेष्ट बैंकको इटहरी शाखाबाट सर्वसाधारणको एक करोडभन्दा बढी बचत रकम ठगी भएको छ।
खातामा जम्मा गरेको रकम झिक्न जाँदा बैंक कर्मचारीले खातामा पैसा छैन भनेपछि एभरेष्ट बैंकको इटहरी शाखामा कार्यरत अप्रेशन इन्चार्ज विराटनगर महानगरपालिका-८ का निरज प्रधानले १९ जना बचतकर्ताहरूको करोडभन्दा बढी रकम ठगी गरेको खुलासा भएको हो।
अप्रेशन इन्चार्ज प्रधानले आफूले चिनेजानेकाहरूको फोटो र नागरिकताको फोटोकपी मागेर एभरेष्ट बैंकमा ३२ जनाको खाता खोलेर १९ ग्राहकको रकम ४५ पटक ट्रान्सफर गरेको बताइएको छ। विराटनगरकी विणा कोइरालाले इन्चार्ज प्रधानले सेयरको फर्म भर्दिन्छु भन्दै आफ्नो नाममा विना जानकारी एभरेष्ट बैंकमा खाता खोली रकम ट्रान्सफर गरेको बताइन्। उनले छिमेकीको नाताले विश्वासमा परेर फोटो र नागरिकताको फोटोकपी दिएको भए पनि उनले ठगी गर्ने उद्देश्यले उक्त काम गरेकाले आफ्नो संलग्नता नभएको बताइन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले एभरेष्ट बैंकका अप्रेशन इन्चार्ज निरज प्रधानले १९ जना ग्राहकको एक करोडभन्दा बढी रकम अन्य ग्राहकको खातामा पठाएर ठगी गरेको पाइएको बताए। उनले ग्राहकहरूले बचत गरेको रकम ठगी गरेको उजुरीका आधारमा प्रधानलाई पक्राउ गरी उच्च अदालत विराटनगरबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको जानकारी दिए।
उजुरीकर्ता एभरेष्ट बैंक र ठगीमा परेका बचतकर्ताको बयान लिएर विस्तृत अनुसन्धानको काम भइरहेको डीएसपी राईले बताएका छन्। उनले रकम जम्म्मा भएको ३२ खातावालालाई पनि अनुसन्धानको दायरामा ल्याउने बताए।
एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले बैंक कर्मचारी प्रधानको फटाइका कारण आफ्ना ग्राहकहरूको रकम ठगी भएकोमा चिन्ता व्यक्त गरे। उनले ग्राहकको रकम हराएको घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रधानविरुद्ध बैंकले नै उजुरी दिएको बताए।
'यो घटनामा बैंकको कुनै कमजोरी छैन। हाम्रा ग्राहकहरूले बचत गरेको रकम उहाँहरुकै खातामा सुरक्षित छ,' उनले भने। अधिकृत खालिङले इटहरी शाखाका बचतकर्ताहरूको हराएको सम्पूर्ण रकम बैंकले उहाँहरूकै खातामा जम्मा गरिदिएको पनि बताए। बचतकर्ताबाट ठगी गरेर अपचलन गरेको रकम भने प्रधानबाट असुल भएको छैन।
0 comment