काठमाडौं - विपि राजमार्गअन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका ३ सोलाभन्ञ्याङ्ग नजिकै भएको कार दुर्घटनामा परी चार भारतीय नागरिकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा मृत्यु भएका चारैजना समस्तीपुर विहारका नागरिक भएको पुष्टि भएको छ। मृत्यु हुनेमा समस्तीपुर विहारका अभिषेक ठाकुर, मुकेशकुमार चौधरी, मुत्यैजकुमार फुलहारा र राजेशकुमार सिंह रहेका छन् । दुर्घटनामा परी घाइते भएका समस्तीपुरकै धर्मेन्द्र शाहलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि काभ्रेस्थित धुलीखेल अस्पताल पठाइएको छ ।
बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत कमलामाई नगरपालिका ३ को सोलाभन्ज्याङमा बुधबार भारतीय नम्बर प्लेटको बी आर डीडी ०६८७ नम्बरको भारतीय कार दुर्घटना भएको थियो । प्रहरी कार्यालयका अनुसार पूर्वबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको कार सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।
दुर्घटना हुँदा घटनास्थलमा तीनजना र सिन्धुली अस्पतालमा एक गरी चारजनाको मृत्यु भएको हो । कारमा पाँचजना सवार थिए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
0 comment