काठमाडौं - दैनिक रुपमा कोरोनाको संक्रमण बढदै गएको अवस्थामा पुन: संक्रमितको मृत्यु हुन थालेपछी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका ठुला अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। 

भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ। मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए। 

'कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई संक्रमण सार्ने गर्ने सम्भावना छ', उनले भने, 'संक्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ।'

मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

कोरोना संक्रमणका कारण मंगलबार एक जनाको निधन भएको छ। वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताए। उनले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिए। 

'अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ', उनले भने, 'संक्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ।' अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उनले जानकारी दिए। 

मंगलबार मात्रै देशभर एक सय ६ जना नयाँ सङ्क्रमित देखा परेका थिए भने एक जना संक्रमितको मृत्यु भएको थियो । आज पनि थप एक जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप १२१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। त्यस्तै आज ८१ जना कोरोनामुक्त भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ। 

हाल काठमाडौं उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु)मा र ३ जना भेन्टिलेटरमा उपचाररत छन्। 

महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ। सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ।