काठमाडौं – नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने धन्दाका मुख्य योजनाकार दाङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दाका मुख्य योजनाकार दाङ घर भएका सन्देश शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

शर्मा प्रहरीको खोजी सूचीमा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । सोही प्रकरणमा यसअघि प्रहरीले केशव दुलालसहितका ४ जनालाई पक्राउ गरिसकेको छ ।

शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पीडितहरूले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए । सोही उजुरीको आधारमा शर्मा पक्राउ परेका हुन् । प्रकरणमा उच्च पदस्थहरू नै संलग्न भएको भन्दै अरोपीहरुले आफूलाई पक्राउ गर्नबाट रोकाएका थिए । 

नक्कली परिचयपत्र बनाएर आफूहरूलाई ठगेको आरोपमा १ सय ४५ जनाले प्रहरीमा यस अघि उजुरी दिइसकेका छन् । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।