काठमाडौं – बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा बझाङको केदारस्यूँ गाउँपालिका– ५ बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु भएकाहरु सबै एकै गाउँका रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिनु भएको छ । भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा मंगलबार राति ११ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जीपमा चालकसहित १२ जना सवार थिए साथै उक्त जिपमा सवार रहेका ५ जना सकुसल रहेका छन् । जीप सडकबाट खस्ने क्रममा हाम फालेका पाँचै जना सकुसल रहेको प्रहरीले जनाएको छ । अहिले सम्म चालक सम्पर्कविहीन छन् । घटनास्थलबाट शव ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । उकालो सडमा गुडीरहेको जीप एक्कासी पछाडी आएको र भिरमा खसेको जीपमा सवार जङ्गी बोहराले बताए । ’हामी ५ जना पछाडी बसेका थियौँ, उकालो सडक थियो, एक्कासी पछाडि आयो, हामीले हामफाल्यौँ, अगाडि सवार सबैजना गाडीसँगै खसे, चालकको अत्तोपत्तो पाएनौँ,’ जीपमा सवार बोहराले बताए ।
0 comment