काठमाडौं - नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रले हेटौंडाका उद्योगले विद्युत् महसुलवापत प्राधिकरणलाई दुई अर्ब ५५ करोड ५२ लाख ८२ हजार ८४९ रुपैयाँ वक्यौता बुझाउन बाँकी रहेको जनाएको छ।
लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत हालसम्म ती उद्योगबाट महुसुल नबुझाइएको उक्त केन्द्रले जनाएको छ। केही उद्योगविरुद्ध महशुलसम्बन्धी मुद्दासमेत चलिरहको छ भने महसुल नतिर्ने ५४२ उद्योगलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ।
कालोसूचीमा परेका केही ग्राहकबाट कारबाहीस्वरुप ७९ हजार २४१ संकलन भएको बताइएको छ। चालु आवको हालसम्म पाँच हजारभन्दा बढी विद्युत् महसुल नतिर्ने ९७३ ग्राहकको लाईन काटेर कारबाही गरिएको केन्द्रले जनाएको छ। कारबाहीमा परेपछि ६१७ जनाले जरिवाना तिरेर निवेदन दिएकाले लाइन जोडिएको र त्यसबाट दुई करोड ५३ लाख ९५ हजार महसुल संकलन भएको जनाइएको छ।
हेटौंडामा ७२ हजार ६९४ ग्राहक रहेकामा वितरण केन्द्रले मासिक १९ करोड १७ लाख ८८ हजार मूल्य बराबरको विद्युत् बिक्री गर्दै आएको र १८ करोड ६ लाख १२ हजार महसुलबापत राजस्व संकलन हुँदै आएको छ। साथै विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत विभिन्न ६ वटा इन्टरनेट कम्पनीले ५३ लाख ५० हजार राजस्वसमेत बुझाएको बताइएको छ।
0 comment