काठमाडौं - अछाममा बसको ठक्करबाट घाइते भएका साँफेबगरका एक युवकको उपचारको क्रममा ज्यान गएपछि आफन्तहरू आन्दोलित भएका छन् ।

साँफेबगर नगरपालिका-३ सिद्देश्वरका २६ वर्षीय हेमराज कुँवरको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरू आन्दोलित भएका हुन्। मृतकका आफन्तहरूले दुई दिनदेखि बजार र यातायात ठप्प पारेका छन् । 

आफन्तहरूले साँफेबगरमा र जयगढमा बस काउन्टरमा तोडफोड समेत गरेका छन् । डाक्टर र बस व्यवसायी समितिको मिलेमतोमा ज्यान गएको मृतकका आफन्तको आरोप छ । ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्बरका गाडी चालकलाई कारबाही र मृतकको श्रीमती र दुई छोरीको लालन पालनको जिम्मा लिनुपर्ने मृतकका आफन्तले माग गरेका छन्।

चैत १९ गते साँफेबगर नगरपालिका ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले कुँवरलाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा काठमाडौंमा चैत्र २४ गते मृत्यु भएको थियो।