काठमाडौं - स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले स्वास्थ्य बिमा कार्यक्रम भद्रगोल भएको स्विकार गरेका छन्।
सातौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको पुर्व संध्यामा आयोजित सञ्चारकर्मीसँगको अन्तर्क्रीया तथा छलफल कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक बसौलाले भने, ‘बिमा कार्यक्रम भद्रगोल भएको गुनासो आएको कुरा सत्य हो। यो कार्यक्रम नागरिकलाई राहत दिन ल्याएको कार्यक्रम हो। आघात दिन होइन। हामी अहिले नागरिकलाई आघात दिने ठाउँमा छौं।’ बसौला नागरिकलाई सन्तुष्टि हुने हिसाबले सेवा दिन नसकेको तर, त्यसका लागि आफूहरु लागिरहेको स्वीकार्छन्।
२०७२ साल चैत २५ गतेदेखि नेपालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो। अहिलेसम्म नेपालको कुल जनसंख्यामध्ये २२ प्रतिशत नागरिक मात्रै बिमा कार्यक्रममा आवद्ध भएका छन्। बिमा कार्यक्रममा आवद्धमध्ये सेवा लिएकाहरुमध्ये केहीको गुनासो छ, ‘अस्पतालहरुले निकै दुःख दिन्छन्। झण्झटिलो मात्रै छ। सजिलैसँग सेवा नै पाइँदैन।’
बसौला भन्छन्, ‘लामो समय भइसक्यो बोर्डको स्थायी संरचना स्वीकृत हुन सकेको छैन। थोरै जनशक्तिमा काम गर्नुपर्ने बाध्यता छ। त्यही भएर पनि समयमा अस्पतालहरुले भुक्तानि पाउन सक्दैनन्। स्वास्थ्य संस्थाबाट अनावश्यक दावी पर्दा त्यसलाई पनि केलाउनुपर्यो।’
अस्पतालहरुको फार्मेसी र सेवा प्रवाह प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा बारम्बार बिमितहरुको कार्यक्रमप्रति गुनासो आएको कुरा सत्य रहेको बसौलाको तर्क छ। स्वास्थ्य बिमा कार्यक्रममा आकर्षण घट्दा पनि बोर्डले ठोस नीतिगत कार्यक्रम ल्याउन सकेको छैन। बोर्डका कार्यकारी निर्देशक बसौलाले भने, ‘समयमै दावी परीक्षण गरी शोधभर्ना गर्न कठिनाइ भइरहेको छ। औपचारिक क्षेत्रलाई बिमा कार्यक्रममा आबद्ध हुन सकेका छैनन्। ’
अहिलेसम्म ६४ लाख ५४ हजार ७७२ जना बिमित भएका छन्। कुल बिमितमध्ये ३८ लाख ७१ हजार ८५० जनाले नवीकरण गरेका छन्। केही बिमितहरुले नवीकरण गर्न मान्दैनन्। कारण हो, स्वास्थ्य बिमा कार्यक्रममा बिमित भएकाहरुले सहज र सरल तरिकाले सेवा नपाउनु। अहिले पनि अस्पतालहरुले स्वास्थ्य बिमा गरेकाहरुलाई सहजै सेवा दिन मान्दैनन्। बिमितहरु अस्पतालमा पुग्दा आफू बिमाबापतको सेवा लिने भनेर जानकारी गराए अस्पतालहरुले सेवासमेत सजिलैसँग नदिने र आलटाल गर्ने गरेको बिमितको गुनासो छ। सूचिकृत सेवा प्रदायक संस्थाहरुले बिमा कार्यक्रम कार्यान्वयन गर्न हिचकिचाइरहेको देखिन्छ। तर, स्वास्थ्य बिमा बोर्डले न त्यसको प्रभावकारी अनुगमन गर्छ नत नियमन नै।
स्वास्थ्य बिमा कार्यक्रमका लागि पटक-पटक प्रतिवेदन बने पनि ती प्रतिवेदन कागजमै सिमित भएका छन्। बिमितहरुले सहज सेवा नपाउँदा सेवा लिनेको संख्या बिमितको भन्दा झण्डै दोब्बर कम छ। कुल बिमितमध्ये २८ लाख ९३ हजार ५७२ जनाले मात्रै सेवा लिएको बिमा बोर्डको तथ्याकंमा उल्लेख छ।
स्वास्थ्य बिमा बोर्डका अनुसार ४ लाख ९८ हजार ७२२ जना अति गरिब बिमित भएका छन्। यस्तै, ७ लाख ७७ हजार ८१६ जना जेष्ठ नागरिक बिमित भएका छन्। सूचिकृत सेवा प्रदायक स्वास्थ्य संस्थाको संख्या ४५६ रहेको छ। देशभरका सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार भए पनि काठमाडौं, ललितपुर महानगर लगायतका पालिकाहरुमा प्रथम विन्दु तोक्न समस्या हुँदा स्वास्थ्य कार्यक्रम लागू गर्न ढिलाइ भएको बोर्डका अधिकारी बताउँछन्।
0 comment