काठमाडौं - काठमाडौं महानगरका प्रमुख बालेन शाहले फुटपाथ मिचेर बनेका प्रहरीका संरचना हटाउन आह्वान गर्दै सो संरचना नहटाइए भत्काइने चेतावनी समेत दिएका छन्।

मेयर शाहले फेसबुक स्ट्याटसमा लेखेका छन्, 'कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैंले हटाउनुहोला। नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।'

उनले फुटपाथ मान्छे हिंड्नको लागि प्रयोग गर्नुपर्ने भएर नै त्यहाँका व्यापारमा रोक लगाएको उल्लेख गर्दै भने, 'फुटपाथ सँधै मान्छे हिंड्नका लागि प्रयोग हुनुपर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ ।'

राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि आफूहरुले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको उनले उल्लेख गरेका छन्।

उनले भनेका छन्, 'कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।'

स्ट्याटससँगै काठमाडौं - ४ वालुवाटार प्रधानमन्त्री क्वार्टर अगाडी, काठमाडौं - २६ सामाखुशी खोलामाथि, काठमाडौं - ३२ जडिबुटी चोक, काठमाडौं - ९ सिनामंगल चोक, काठमाडौं - ६ चुच्चेपाटी, काठमाडौं - १७ ढल्को, काठमाडौं - १८ ताम्सिपाखा, काठमाडौं - २९ रुद्रमती मार्ग मैतिदेवी, काठमाडौं - २७ असनचोक, काठमाडौं - २२ न्युरोड पिपलबोट, काठमाडौं - २० चिकमंगल, काठमाडौं - १७ धोबिचौर, काठमाडौं - ३१ देउराली क्लब, काठमाडौं - ७ रातोपुल, काठमाडौं - ६ बौद्ध प्रहरी वृत्त, काठमाडौं - १३ ताहाचल, काठमाडौं - ३२ पेप्सिकोला चोक, काठमाडौं - ९ त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थल अगाडी, काठमाडौं - १६ माछापोखरीस्थित प्रहरी बिटहरुको तस्विर समेत राखिएको छ ।