काठमाडौं - रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
५१ वर्षको उमेरमा माध्यमिक परीक्षा (एसईई) दिने ‘आँट’ गरेका मेयर साहले आफ्नो ठाउँमा आफ्ना ज्वाइँलाई परीक्षार्थी बनाएर पठाएपछी उनको नाममा पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभूषण साहको टोलीले गत चैत १९ गते मौलापुरको लक्ष्मीनियाँ माविमा एसईई परीक्षाको अनुगमन गर्यो। सिम्बोल नम्बर ३५०३७२८ का परीक्षार्थी माथि अनुगमन टोलीले शंका गर्यो। बुझ्दै जाँदा उक्त सिम्बोल नम्बरका परीक्षार्थी कानुको सट्टा अर्कै परीक्षार्थी फेला परे। मेयर साहका ज्वाइँ गरुडा—६ पोठियाहीका ३० वर्षीय कमल साह पक्राउ परे। कमल पेसाले इन्जिनियर हुन्। रेडियो नेपालको बर्दिबास शाखामा पाँचौं तहमा कार्यरत छन्। ससुरा कानुले परीक्षामा सहभागी हुन भनेपछि आफूले परीक्षा दिएको कमलले बताए। ‘कानु जनप्रतिनिधि भएकोले छानबिनका लागि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘नक्कली परीक्षार्थी राखेर परीक्षा दिलाउन लगाएको विषयमा अनुसन्धान गरिराखेका छौं।’
प्रहरीले मेयर कानुको परीक्षा फर्म, रजिस्ट्रेसन र परीक्षाका अन्य कागजात छानबिन गरिरहेको छ। प्रवेशपत्रमा बुवाको नाम बनवारी साह, आमाको नाम दयादेवी र ठेगानामा वडा नम्बर ९ लेखिएको छ। यी सबै मेयर कानुका परिचय हुन्। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि केन्द्राध्यक्ष तेजनारायण साह पनि ‘फरार’ छन्। शिक्षा ऐन २०२८ को दफा १७ ‘क’ मा नक्कली परीक्षार्थीबाट जाँच दिने र जाँच दिन लगाउनेलाई ६ महिना कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने प्रावधान छ। अदालतले मेयर कानुका छोरा कुन्दन साहलाई पनि पक्राउ पुर्जी जारी गरेको छ। मधेसमा यस पटकको एसईई परीक्षामा कुल २ सय ७९ परीक्षा केन्द्र छन्। ७९ हजार ९४ परीक्षार्थीहरू सहभागी छन्। मधेस प्रदेशमा सबैभन्दा बढी धनुषाका ४३ परीक्षा केन्द्रमा १२ हजार १ सय ४६ परीक्षार्थी छन्।
सबैभन्दा कम रौतहटमा ३५ परीक्षा केन्द्रमा ८ हजार ९ सय ५७ परीक्षार्थी छन्। सप्तरीमा ३६ परीक्षा केन्द्रमा ९ हजार ५ सय २७, सिरहाका ४० परीक्षा केन्द्रमा १० हजार १ सय ५०, महोत्तरीमा ३१ परीक्षा केन्द्रमा ९ हजार ५४, सर्लाहीमा १० हजार ९ सय १६, बारामा ३२ परीक्षा केन्द्रमा ९ हजार १ सय ७९ र पर्सामा २५ परीक्षा केन्द्रमा ९ हजार १ सय ३५ जनाले एसईई परीक्षा दिइरहेका छन्। परीक्षा सञ्चालन गर्न मधेसमा ७ हजार ५ सय ७९ जनशक्ति खटेको छ। तीनवटै सुरक्षा निकाय र स्थानीय तहलाई सक्रिय बनाइएको मधेस सरकारका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले बताए।
0 comment