काठमाडौं - उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले विदेशमा मृत्यु भएका नेपालीले पाउने बिमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने वैदेशिक रोजगार विभागका कर्मचारीसहित सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वैदेशिक रोजगार विभागका कर्मचारी पशुपति अधिकारी, काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी नगरपालिकाका विनोदकुमार लामा, डिकबहादुर लामा, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले छन्। उनीहरूले गाउँका सोझासाझा व्यक्तिलाई प्रलोभनमा पारेर बिमाबापतको ६० देखि ७० प्रतिशत रकम ठगी गर्ने गरेको खुलेको छ। 

विभिन्न कारणले विदेशमा ज्यान गुमाएका नेपालीहरूको शव कुन एयरलाइन्सबाट कहिले आउँछ भन्ने खबर विभागका कर्मचारीले गिरोहलाई दिने गर्थे। गिरोहका मुख्य ‘नाइके’ रामबहादुर तामाङले होटलमा बसेर नै विभागका कर्मचारीसँग समन्वय गर्थे र फिल्डमा मान्छे खटाउँथे। विदेशमा मृत्यु भएका व्यक्तिको बिमा छ, छैन बुझेर बिमा भएका शवहरू मात्रै गिरोहले टार्गेट गर्थे। नेपाल फर्केका शव बोकेका कफिन लिन आएका आफन्तलाई पछ्याउँदै यो गिरोह मृतकको परिवारसम्म पुग्ने गर्थ्यो। उनीहरूलाई सहयोग गर्ने बहानामा विभिन्न आवश्यक कागजात बनाइदिन र रकम हत्याउन लागि पर्थे। गिरोहले मृतकका परिवारलाई काठमाडौं ल्याएर एउटै होटलमा राख्थे र बाहिर कतै सम्पर्क गर्न दिँदैनथे। 

गिरोहले विशेषगरी मधेस प्रदेशका सोझासाझा र गरिब परिवारलाई टार्गेट गर्ने गरेको प्रहरीले जनाएको छ। गिरोहबाट ठगिएको भन्दै दुई जनाले प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उजुरीपछि अपराध अनुसन्धानको टोली गिरोहसम्म पुग्न सफल भएको थियो। उजुरीकर्तामध्ये एक जनाले बिमाको रकमबापत १३ लाख पाउनुपर्नेमा यो गिरोहले पाँच लाख मात्रै दिएको थियो। अरूलाई भनेमा प्रहरीले समाउँछ, पैसा खाइदिन्छ भन्दै गिरोहले पीडित परिवारलाई डर, त्रास देखाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, वडा कार्यालयको सिफारिस, बिमा कम्पनीको लेटरप्याडलगायत महत्त्वपूर्ण कागजातहरूसहित उनीहरू पक्राउ परेका हुन्। उनीहरूबाट ३५ जनाको फाइलसमेत बरामद भएको छ। 

रोजगारीका सिलसिलामा विदेशमा मृत्यु भएका र बिदामा आउँदा मृत्यु भएका नेपालीहरूले प्राप्त गर्ने बिमाको रकम दिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। गिरोहका केही व्यक्तिहरू शव आउने स्थल कार्गो कार्यालय आसपास बसेर निगरानी गर्ने गर्थे। पीडितसँग हामी बिमा कम्पनीबाट आएका प्रतिनिधि हौं भन्दै पीडितसँग सम्पर्कमा रहन्थे। प्रहरीका अनुसार एउटा शवबापत मृतकले पाउने बिमा रकम बुझिसकेपछि फिल्डमा खटिनेलाई ४० देखि ५० हजार दिन्थे। बाँकी रकम गिरोहका मुख्य व्यक्तिले लिन्थे। 

वैदेशिक रोजगारीमा हुँदा कार्यस्थलमा मृत्यु भएकाको परिवारले १४ लाख र छुट्टीमा आउँदा मृत्यु भएमा १३ लाख बिमाबापतको क्षतिपूर्ति पाउने व्यवस्था कानुन मै छ। यसका अलावा वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त सात लाख पनि पाउने व्यवस्था छ। कानुनी प्रक्रिया पूरा गरेर विदेश जाने व्यक्तिका परिवारले यो क्षतिपूर्ति पाउँछन्। पक्राउ परेका वैदेशिक रोजगार विभागका कर्मचारी पशुपति अधिकारीले एउटा शवको जानकारी दिएबापत गिरोहसँग २५ हजार लिने गरेको अनुसन्धानबाट खुलेको छ।