काठमाडौं - बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले नागार्जुन—शङ्करमाली जेभीसँगको ठेक्का सम्झौता रद्द गर्दै कम्पनीलाई ३ वर्षका लागी राखेको कालोसूचीमा छ ।
मकवानपुरको सामरीस्थित सामरी खोलामा निर्माणाधीन पुल (सामरी खोला प्रि स्ट्रेसड ब्रिज) पटक-पटक म्याद थप गर्दा पनि नागार्जुन—शङ्करमाली जेभीले निर्माण पूरा नगरेकाले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का रद्द गरेको हो ।
पूर्वाधार विकास कार्यालय र नागार्जुन—शङ्करमाली जेभीबीच २०७२ सालमा ठेक्का सम्झौता भई २०७४ सालमा निर्माण गरिनुपर्ने उक्त पुलका लागि दुई पटक म्याद थप गरिएको थियो । म्याद थप गर्दा पनि हालसम्म निर्माण कार्य अगाडि नबढाइएको भन्दै मन्त्रालयले ठेक्का रद्द गर्दै निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा समेत राख्ने निर्णय गरेको हो ।
नागार्जुन—शङ्करमाली जेभीले तोकिएको समयभित्र निर्माण गर्न नसकेपछि प्रथम पटक २०७५ चैत २६ गते तीन महिना चार दिनका लागि समय थप गरिएकोमा काम हुन नसकेपछि २०७६ फागुन ८ गते पुनः एक वर्षको लागि समय थप्दा पनि हालसम्म काम नभएकाले ठेक्का रद्द गर्नुपरेको भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।
जनताको जनजीवनसँग जोडिएको विकासका पूर्वाधार निर्माणमा पटक-पटक समय थप्दा पनि काम नभएपछि रद्द गर्नुको विकल्प नरहेको उनको भनाइ थियो । प्रदेश सरकारसँग पहुँचको आधारमा काम छल्ने कार्य अब अन्त्य हुने मन्त्री दुलाललले बताए ।
कार्यप्रगति सन्तोषजनक नभएको र मन्त्रालयमा बैठक बोलाउदासमेत निर्माण कम्पनी अनुपस्थित हुनाका साथै आफूले जिम्मा लिएको काममा चासो नदेखाएको र राज्यको लगानीमा सर्वसाधरणले दुःख भोग्नपर्ने अवस्था आएकाले ठेक्का रद्द गरेर नयाँ ठेक्का आह्वान गरिने मन्त्री दुलालले जनाए ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ अनुसारको कार्य गरेकाले ठेक्का सम्झौता अन्त्य गरिएको मन्त्रालयले जनाएको छ । पुलको सम्झौता अनुसारको लागत रकम ५ करोड ३७ लाख ९२ हजार ३०५ रुपैँया ३० पैसा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यसम्पादन जमानत बमोजिमको बैंक ग्यारेन्टी रकम २६ लाख ९० हजारसमेत जफत हुने जनाएको छ ।
0 comment