काठमाडौं - प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ हजार अमेरिकी डलरसहित शंकास्पद ११ जना नेपालीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङका चन्द्रकान्त चालिसे, बुद्धवीर वाग्ले र पृथलाल घर्ती, काभ्रेका अर्जुनकुमार श्रेष्ठ, म्याग्दीका नरबहादुर गरबुजा र दिलकुमार पुन, रौतहटका लक्ष्मीप्रसाद चिमोरिया, नुवाकोटका टेकारे तामाङ र रामभक्त थापा, धनकुटाका मरिचमान लिम्बू र सोलुखुम्बुका दोर्जी तामाङ रहेका छन् ।
बुधबार साँझ फ्लाइ दुबईको ५७६ नम्बरको उडानबाट दुबई जान लागेका उनीहरूलाई विमानस्थल प्रहरीले सुरक्षा जाँचका क्रममा ३३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार दुबईलाई ट्रान्जिट बनाई रोमानिया र क्रोएसिया जान लागेका उनीहरूको पासपोर्टमा डलरको विवरण उल्लेख थिएन ।
पक्राउ परेका प्रत्येक व्यक्तिबाट ३ हजारका दरले कुल ३३ हजार अमेरिकी डलर बरामद भएको हो । ग्लोबल रिक्रुटमेन्ट मेनपावरबाट उनीहरूलाई दुबई पठाउन लागिएको थियो । बरामद रकम उक्त मेनपावर सञ्चालककै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक लालमणि आचार्यले उनीहरूसँग भएको डलरको विवरण बैंकिङ च्यानलमा नरहेको र उनीहरूको यात्रा शंकास्पद देखिएकाले पक्राउ गरिएको बताउनु भयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 comment