काठमाडौं - बलात्कार आरोप लागेका न्यायाधीश भुवन गिरीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । 

जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको तहसिलदार गोकर्ण लम्सालले जानकारी दिए । हाल न्यायाधिश गिरि न्याय परिषदमा कार्यरत छन् । यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमै कार्यरत थिए ।

गिरिमाथी बलत्कारको आरोप लागेपछि गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानिएको थियो । उनीमाथि उनकै कान्छी श्रीमति आरतीले आफूमाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । 

पीडित गिरिले मंसिर पहिलो साता नै जाहेरी दिएपनि प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन । पीडितले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषद‍मा पनि निवेदन दिएकी थिइन् । 

न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडितले पटकपटक सर्वोच्च अदालत अगाडि पुगेर प्रदर्शन गर्ने गरेकी थिइन् ।