काठमाडौं - भारतको पूर्वी सिक्किममा हिम पहिरोमा परी तीन जना नेपालीसहित सात जना मृत्यु भएको छ । 

मङ्गलबार बिहान ११ बजेर १० मिनेटमा सिक्किमको छोम्गोस्थित १७ औं माइल नजिकैको गान्तोक नातुला जेएनएम रोडमा हिम पहिरो गएको थियो। सो पहिरोमा परी चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको हो। मृत्यु हुने तीनै जना नेपालीको शव स्वदेश ल्याउने तयारी भइरहेको छ।  

त्यस्तै हिम पहिरोमा परी पश्चिम बङ्गालका २८ वर्षीय सौरभ राय चौधरी, ३८ वर्षीय प्रितम मात्ये, उत्तर प्रदेशका ३२ वर्षीय बाल सिंह र ६ वर्षीया बालिका रेविया सिंहको मृत्यु भएको छ । मृतक सातै जना सिक्किम घुम्न आएका पर्यटक थिए। 

त्यसैगरी हिम पहिरोमा परी तीन नेपाली नागरिक घाइते समेत भएका छन्। घाइते हुनेहरूमा ४० वर्षीया गीता सापकोटा, ३८ वर्षीया ज्योति गुरुङ र ४३ वर्षीय रमेश खनाल रहेका छन्। उनीहरूको ठेगाना खुलाइएको छैन। उनीहरूसहित घाइते १३ जनाको गान्तोकस्थित एसटीएनएम हस्पिटलमा उपचार भइरहेको छ। 

त्सोमगो ताल नजिकै हिम पहिरो खस्दा नाटुला जाने क्रममा २० देखि ३० पर्यटकसहित आधा दर्जन सवारीसाधन हिउँमुनि पुरिएको थियो। उनीहरूको त्रिशक्ति कोर्प्स, भारतीय सेना र बीआरओ परियोजना स्वस्तिकको टोलीले उद्धार गरेका थिए।  हिम पहिरोले सडक अवरुद्ध हुँदा ३५० पर्यटक र करिब एक सय सवारीसाधन अलपत्र परेका थिए। 

‘सामान्यतया जनवरी, फेब्रअरीमा हिम पहिरो जान्छ। तर यसबर्ष पानी अत्यधिक परेकोले मार्च र अप्रिलमा पनि सिक्किमका विभिन्न ठाउँमा हिम पहिरो खसेको छ। 

हिम पहिरोमा अझ अरु फस्न सक्ने हुनाले सिक्किम सरकारले पर्यटकहरूको पहिचानका लागि हटलाइन नम्बर जारी गरेको छ।