काठमाडौं - न्यायको माग गर्दै सरकारलाई दबाब दिन मधेसका बिभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याज पिडितहरुले मंगलबार शान्ति बाटिकादेखि भाटभटेनीमा केही बेर धर्ना बस्दै विरोध र्‍याली निकालेका छन् ।

काठमाडौं शान्ति बाटिकामै रात कटाएका पिडितहरुले मजदुर मार्चको नाममा बालुवाटारसम्म मार्च पास गर्ने बताएका छन् । दिउँसो १ बजेदेखि सुरु भएको मार्च पास भाटभटेनी चोक पुगेर विरोधसभामा परिणत भएको थियो । भाटभटेनीस्थित विरोध सभामा पुर्व शिक्षा मन्त्री गिरिराज मणी पोखरेलले उपस्थिति जनाएका थिए । पत्रकारहरुसँग बोल्दै पोखरेलले अहिले सरकारले निर्णय गर्दा अदालतमा भएका मुद्दाहरुलाई पनि प्रभावित हुने गरि काम गर्नुपर्थ्यो तर सरकारले खासै ध्यान दिन नसकेको बताए।  'अब एउटा शक्तिशाली अधिकार सम्पन्न एक-एक समस्यालाई समाधान गर्न सक्ने आयोगको जरुरत छ।  काठमाडौं आएका पिडितहरुलाई अल्मल्याउनु भन्दा पनि साँच्चिकै समस्या समाधान गर्नमा सरकारको ध्यान केन्द्रित हुनु पर्दछ', पोखरेलले भने।  

सरकारले चैत १८ गते गरेको सहमति पनि फितलो भएको भन्दै दबाब दिन मधेसका पीडितहरू काठमाडौं आएका हुन् । पहिले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको भन्दै मधेसका विभिन्न २० जिल्लाका सयौं मिटरब्याज पीडितहरू ११ दिनको पैदलयात्रापछि गत साता बर्दिबासबाट हिँडेर काठमाडौं आइपुगेका हुन्। 

'साहुबाट ११ लाख ऋण मागेँ । २ बर्षमा १७ लाख तिरेँ । तर पनि साहुलाई पुगेन । प्रहरी कार्यालयमा जाहेरी दिएर सर्लाही जिल्ला अदालतमा पेश भयो।तर धरौटिमा साहुलाई छोडियो ।  मैले न्याय पाईंन ।', एक जना पिडितले आक्रोश पोखे ।

सोमबार दिउँसो भद्रकालीमा प्रदर्शन गरेका उनीहरू राति भने शान्ति वाटिकामै खाना खाएर त्यहीँ सुतेका थिए । देशभरका मिटरब्याज पीडितहरूको समस्या समाधान गर्ने भन्दै सरकारले पटक-पटक सम्झौता गरे पनि अहिलेसम्म समाधान गर्न सकेको छैन।