काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको तत्कालिन मेयर, पूर्व प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। 

सुर्खेतको भेरीगंगा नगरपालिका, पञ्‍चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाको कृषि र पशु शाखाबाट सम्पादन हुँदै आएका कामहरूको डुप्लिकेसन गरी नमुना समाज, सुर्खेतले पञ्चपुरी नगरपालिकासमेतबाट प्राप्त रकम आफ्नो लगानीको कुनै स्रोत नदेखाई तथा कामै नगरी  भुक्तानी लिएको भन्दै आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले पञ्चपुरी नगरपालिकाका तत्कालीन नगर प्रमुख उपेन्द्र बहादुर थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पित्रीभक्त गिरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद देवकोटा, लेखा अधिकृत मोहन बहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी , नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशक लाल बहादुर जिएम भन्ने लाल बहादुर घर्ती मगर, नमुना समाज, सुर्खेतका अध्यक्ष भूमिसरा पुलामी र नमुना समाज सुर्खेतको हकमा मुद्दा दायर गरेको हो।

आयोगले पूर्व मेयर थापाबाट ५० लाख, गिरीबाट ३० लाख, देवकोटाबाट २० लाख, बुढाबाट ५० लाख, अधिकारीबाट २० लाख र नमुना समाजको हकमा ५० लाख रुपैयाँ बिगो माग गरिएको छ। 

नमुना समाज सुर्खेतसँग सम्झौताबमोजिमको कार्यक्रम सञ्चालन गर्न नगरपालिकाको कुनै बैठकसमेतबाट निर्णय नभएको, नमुना समाजको कार्यक्रम सञ्चालनसम्बन्धी कुनै प्रस्ताबसमेत माग नगरेको, संस्था छनौट गर्दा सार्वजनिक खरिद ऐन/नियमावली लगायतका प्रचलित कानुनसमेतलाई वेवास्ता गरेको, सम्झौता गर्नुपूर्व उक्त संस्थाले प्रतिबद्धता जनाएको रकम ल्याई खर्च गर्नसक्ने क्षमता र बिश्वसनीयता रहे/नरहेको आधार बिना हचुवाको भरमा नमुना समाजले सम्झौताबमोजिम रकम खर्च गरी फिल्डमा कार्य सम्पादन गरेको अनुगमन, मूल्याङ्‍कन र कार्यसम्पन्न समेतको कार्यसम्पादन नगरी भुक्तानी दिन निर्देशन दिएको र नमुना समाजले सम्झौता बिपरीत कार्य गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर ठहर भएको आयोगले दाबी गरेको छ।