काठमाडौं - उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार घिमिरेले दरौँदी कोरिडोर प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरेका छन् ।
आइतबार गरिएको शिलान्याससँगै दरौँदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी–मस्याङ्दी (दरौँदी कोरिडोर) प्रसारण लाइन निर्माणको काम अघी बढेको छ ।
आयोजना अन्तर्गत गोरखा जिल्लाको सिरानचोक गाउँपालिका – १ मा एक सय ३२ केभी क्षमताको केराबारी सवस्टेशन निर्माण हुनेछ। यस्तै सो सव–स्टेशन देखि तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपलिका–२ स्थित न्यु – मस्याङ्दी (मार्किचोक) सव–स्टेशनसम्म करिब ३२ किमी लामो एक सय ३२ केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ।
कूल एक सय सात वटा टावर रहने यस प्रसारण लाइन आयोजनाको टावर नम्बर १९ बाट निर्माण सुरु गर्न लागिएको हो। प्रसारण लाइनको निर्माणपछि चेपे तथा दरौंदी खोलामा निर्माण गरिने विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित १२० मेगावाट विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ। नदि कोरिडोरका धेरै आयोजनालाई समेट्ने गरी बनाइएको यो प्रसारण लाइन विकासको एक मोडेलको रुपमा स्थापित हुने देखिन्छ ।
उर्जा सचिव घिमिरेले आयोजना प्रभावित स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित सरकारी निकायको आयोजनाप्रतिको अपनत्वको सराहना गरे। देशमा तीव्र गतिमा उत्पादन भइरहेको बिजुलीलाई लोड केन्द्रमा पुर्याउनका लागि प्रसारण गुरु योजना तयार पारिएको र सोहि बमोजिम राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले प्रथामिकीकरण गरी आयोजनाको निर्माण द्रुत गतिमा बढाएको उनको भनाइ छ। उनले राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड तथा निर्माण व्यवसायीलाई आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिँदै आयोजना सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे।
0 comment