काठमाडौं - नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी प्रतिनिधिमण्डलसँग सिंहदरवारमा भएको भेटवार्तामा अर्थमन्त्री डा. महतले भने, 'तपाईंहरूको मनोबल घट्न दिन्न। तपाईहरूसँग निरन्तर संवादमा रहन्छु। मैले अर्थतन्त्रलाई सुधार गर्न गरेको प्रतिवद्धता पूरा गर्न तपाईंहरूबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु,'
उनले समस्याग्रस्त अर्थतन्त्र सुधार्न निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाए।
भेटवार्ताका क्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिँदै अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गरेका थिए। अध्यक्ष गोल्छाले केन्द्रीय बैंक र सरकारको संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर घटाउन सुझाव दिए।
सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम अघि बढाउन पनि उनले जोड दिए। देशको चालू खर्च धान्न मुस्किल परेको अवस्थामा बाहिरी ऋण उठाएर भए पनि चालू खर्च धान्न उनले आग्रह गरे। उनले राज्य संयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुर्याउने बताए।
अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्र्याउनका लागि दाताहरूसँग पहल गर्नुपर्ने, स्थानीय दाताहरूसँग पनि सम्मेलन गर्नुपर्ने, निजी क्षेत्रको मनोबल उकास्ने खालका सन्देश प्रवाह हुनुपर्ने र राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव दिए।
0 comment