काठमाडौं - नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने बताएका छन्।
सिंहदरवारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले अर्थतन्त्रलाई थप मन्दीमा जान नदिन र अर्थतन्त्रमा देखिएको संकट परास्त गर्न अर्थमन्त्रीको हैसियतले भरपुर कोसिस गर्ने बताए।
उनले भने, 'हाम्रो अर्थतन्त्रमा यतिबेला मन्दी लागेको छ। राजस्वको परिवेश, आपूर्तिको परिवेश सन्तोषजनक छैन। अहिले राजस्वभन्दा धेरै खर्च छ। पूँजीगत खर्च गर्न सकेका छैनौं। समग्र परिस्थितिको सामना गर्दै खस्किएको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यत्न रहन्छ ।'
उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोच लिएर अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने बताए। उनले वित्तीय क्षेत्रमा पनि विभिन्न समस्या रहेको भन्दै राष्ट्र बैंकसँग सहकार्य गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने बताए।
उनले बजेटले पूर्णता नपाएसम्म कुनै बधाइ तथा शुभकामना नलिने प्रतिबद्धता जनाए। 'बजेट नआएसम्म म कुनै बधाई तथा शुभकामना ग्रहण गर्दिनँ। पहिले अर्थतन्त्रलाई कसरी सकारात्मक दिशामा डोर्याउने, कस्तो बजेट ल्याउने विषयको टुंगो लगाएरमात्रै बधाई तथा शुभकामना ग्रहण गर्छु,' उनले भने।
0 comment