काठमाडौं - कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधर आन्दोलनकारीहरूले धरान उपमहानगरपालिकामा कालो झण्डा गाडेर तालाबन्दी गरेका छन्। 

बिहीबार नारा जुलुससहित आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले धरान उपमहानगरपालिकासहित धरानको वडा नम्बर ५, १२, १५, १६ लगायतको वडा कार्यालयमा तालाबन्दी गरेका छन्। सयौंको संख्यामा रहेका आन्दोलनकारीहरूले प्रहरीकै अगाडि तालाबन्दी गरेका थिए। प्रहरीले केही वडा कार्यालयको ताला खोलेपनि आन्दोलनकारीहरूले पुनः तालाबन्दी गरेका थिए ।

नाम खारेजीको माग राखेर आन्दोलन गर्ने क्रममा प्रहरीसँगको झडपमा विराटनगरमा लिम्बुवान भोलन्टियर्सका कमाण्डर पदम लिम्बु लाजेहाङको मृत्यु भएपश्चात पहिचान पक्षधरहरूले आन्दोलनलाई सशक्त पारेका छन्। 

बन्द, हड्ताल, कोसी प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गर्दै आएका उनीहरूले प्रदेश भरी सरकारी कार्यालय सञ्चालन गर्न नदिने चेतावनी दिँदा समेत सरकारले उनीहरूलाई वार्ताको टेबलमा राख्न सकेको छैन। 

सरकारले आन्दोलनकारीलाई वार्तामा नबोलाएका कारण आन्दोलनकारीहरूले सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा लगायतका जिल्लामा आन्दोलन चर्काएका छन्।