काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर विमानस्थलको अत्याधुनिक ट्रमिनल भवनको शिलान्यास गरेका छन्।
उडान सुरु गरेको ६२ वर्षपछि विमानस्थलमा एक हजार यात्रु सहज रूपमा धान्न सक्नेगरी अत्याधुनिक ट्रमिनल भवन बनाउन लागिएको हो। साँघुरो भएकै कारण ठुला जहाज अवतरण गर्न नमिल्ने भरतपुर विमानस्थलमा अत्याधुनिक ट्रमिनल भवनसँगै विमानस्थलको विस्तार गर्न लागिएको छ।
कुल १ अर्ब ९२ करोडको लगानीमा १४ कट्ठा क्षेत्रफलमा विमानस्थलको आठ तले कन्ट्रोल टावर र पार्किङसहित दुई तले ट्रमिनल भवन बनाउन एसी क्षमादेवि प्रतिष्ठादेवीसँग तीन वर्षमा निर्माण पूरा गर्ने ठेक्का सम्झौता भएको छ।
दैनिक १० घण्टा चल्ने विमानस्थललाई रात्रिकालीन उडान समेत सञ्चालन योग्य बनाउन लागिएको हो।
५८ विगाहामा भरतपुर विमानस्थललाई थप विस्तार गर्न लागिएको छ। १२ सय मिटर धावन मार्गलाई १५ सय मिटर पुर्याउन लागिएको छ। त्यसका लागि १९ विगाहा जमिन आवश्यक पर्छ। त्यसैले उत्तरतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलाई भरतपुर ११ स्थित गणेस्थान मन्दिर नजिक सार्न लागिएको छ। त्यस्तै काली बहादुर गणलाई नारायणघाटको दियालो बंगला सार्न लागिएको छ। स्थानान्तरण गरेपछि धावन मार्गको विस्तार थालिने छ। नीतिगत सहमति गरेर मन्त्रिपरिषदबाट निर्णय गराउन लागिएको छ।
भरतपुर विमानस्थलको १२ सय मिटरको धावन मार्गमा ७२ सिटे विमान आउन सक्दैनन्। विमानस्थल वरपरका मापदण्ड विपरीतका संरचनाका कारण ९ सय मिटरमात्रै प्रयोग हुन्छ। ४८ सिट क्षमताका विमानले पनि ४२ जना यात्रु मात्रै बोक्छन्। ७२ सिटे जहाज पनि अवतरण गर्न सक्ने तथा रात्रिकालीन उडान भर्ने गरी स्तरोन्नति गर्न भरतपुर महानगरपालिकाले सहजीकरण गरेको महानगर प्रमुख रेनु दाहालले बताइन्।
0 comment