काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परी थुनामा रहेका तीनजना धरौटी बुझाएर छुटेका छन्। 

प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेर सोमबार कारागार चलान भएका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्। उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभ्रद व्यवहारमा मुद्दा दर्ता भएको थियो। 

गत मंगलबार स्वतन्त्र अभियान नेपालका केही कार्यकर्ताले प्रधानमन्त्री उपस्थित कार्यक्रममा नाराबाजी गरेका थिए। उनीहरूले बैंकको व्याज महँगो भएको, जनताले दुःख पाएको र ब्याजदर घटाउनुपर्ने लगायतका माग राखी प्रदशनमा उत्रिएका थिए।

सोमबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही ५ हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको थियो। धरौटी बुझाउन नसकेपछि उनीहरूलाई जेल चलान भएका थिए। उनीहरूलाई डिल्लीबजार कारागार कार्यालय पठाइएको थियो।  

प्रधानमन्त्रीविरूद्ध बोलेकै भरमा पक्राउ गरी जेल चलान भएपछि सर्वत्र विरोध भएको थियो। सत्तापक्षकै सांसदहरूले समेत विरोध जनाएका थिए। आज बिहान नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेको आरोपमा थुनामा परी जेल चलान गरिएका  युवालाई तत्काल रिहाइ गर्न माग गरेका थिए।

महामन्त्री शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने बताएका थिए।