काठमाडौं - कोशी प्रदेशमा प्रदेश नामाकरणको विरोधमा पहिचान पक्षधरले गरेको प्रदर्शनमा आज प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित १५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
प्रदर्शन नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षकसहित १२ र सशस्त्रका ३ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । नेपाल प्रहरीतर्फ वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर (प्रहरी निरीक्षक) रोहित शर्मासहित १२ जना घाइते भएका हुन्। सशस्त्र प्रहरीतर्फ १ जना नायव निरीक्षक र २ जना जवान घाइते भएका छन्। आन्दोलनकारीतर्फ कतिजना घाइते भए भन्ने यकिन भइसकेको छैन ।
विराटनगरमा पहिचान पक्षधरले गरेको प्रदर्शन नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीबीच दोहोरो झडप भएको थियो । सुरक्षाकर्मीलाई लक्षित गरेर आन्दोलनकारीले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३१ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । १५ राउण्ड हवाईफायर समेत गरिएको थियो ।
प्रदेश १ को नाम कोशी राखिएपछि ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने मागसहित पहिचानवादी आन्दोलित छन् ।
कोशी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधरले आज विराटनगरको पाञ्चालीनजिक प्रदर्शन गरेका थिए । आन्दोलनकारीले बिग होटलको कफी सपमा तोडफोडसमेत गरेका छन् । शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक बनाउन आन्दोलनकारीले नै भूमिका खेलेको दाबी प्रहरीको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले प्रहरीमाथि ढुंगामुडा गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । कोशी नाम खारेज हुनुपर्ने, मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने,पहिचानवादी एक हुनुपर्ने लगायतका नारा लगाएर पहिचान पक्षधर प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनस्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन गरिएको छ ।
प्रदेश सरकारले गत फागुन १७ गते प्रदेशको नामाकरण गरेर कोशी नाम राखेको थियो । नाम खारेजीको माग राख्दै चैत ५ गते विराटनगरमा प्रदर्शन भएको थियो । त्यस क्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर पदम लिम्बू ‘लाजेहाङ’को मृत्यु भयो । आन्दोलनकारीकै लाट्ठी प्रहारबाट उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सार्वजनिक भएको एउटा भिडियोमा पनि लिम्बूको मृत्यु आन्दोलनकारीकै लाट्ठी प्रहारबाट भएको देखिन्छ । तर, पहिचानवादी समूहले भने प्रहरीको कुटाइले मृत्यु भएको दाबी गरेर आन्दोलनलाई चर्काउने प्रयास गरिरहेका छन् । चैत ८ गते उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका लिम्बूको चैत १० गते बिहान मृत्यु भएको थियो ।
कोशी प्रदेश सरकारले उनको परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ दिने निर्णय सोमबार गरिसकेको छ ।
यता पाँचथरको फालेलुङ गाउँपालिकामा ‘कोशी’ नाम खारेजीको माग गर्दै आन्दोलनकारीले तालाबन्दी गरेका छन्।
पालिकाका सूचना अधिकारी रणजित आङ्बुहाङका अनुसार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित लेखा र योजना फाटको कार्यकक्ष बन्द गरिएको हो। फालेलुङका वडा कार्यालयहरूमा पनि तालान्दी गरिएको छ।
तत्कालीन १ नं. प्रदेशका सम्पूर्ण पालिका बन्द गरिएको आन्दोलनरत पक्षका नेता मधु केरुङले जानकारी दिए। ‘हामी न्यायको लडाइँमा छौँ,’ केरुङले भने ‘कोशी नाम खारेज गरेर पुनः नामाकरण गर्नुपर्छ भन्ने माग राखेर पालिकाहरूमा कामकाज ठप्प पारेका हौँ।’
प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंगलबारदेखि शुक्रबारसम्म स्थानीय सरकारका कार्यालय बन्द गर्न आह्वान गरेको छ।
त्यसैगरी दमक नगरपालिका कार्यालयमा ताला लगाउने क्रममा पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ। झडपमा पहिचान पक्षधरका केही प्रदर्शनकारीहरू सामान्य घाइते भएका छन्।
आदिवासी जनजाति महासङ्घको अगुवाइमा प्रदेश नम्बर १ पुनः नामाङ्कन सङ्घर्ष समिति गठन गरी आन्दोलित बनेका पहिचान पक्षधरहरूले आफ्नो पूर्वघोषित कार्यक्रममा अनुसार मंगलबार झापा जिल्लाका सबै पालिकाहरूमा विरोध स्वरूप तालाबन्दी, कालोझण्डा गाड्ने, कोशी प्रदेश नाम लेखिएको लेटर प्याड नबनाउन र बनाएको भए मेट्ने कार्यक्रम अनुसार दमक नगरपालिकामा तालाबन्दी गरी फर्किए लगतै प्रहरीले ताला फुटाएपछि पहिचान पक्षधरहरू पुनः ताला लगाउन नगरपालिका प्रवेश गरेपछि दुवै पक्षबीच विवाद भइ झडप भएको थियो। झडप पश्चात् स्थिति तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गर्दा नगरपालिकाको झ्यालका सिसीहरू फुटेको छ। कार्यालयको दैनिक कामकाज समेत प्रभावित बनेको थियो।
अहिले दमक नगरपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। पहिचान पक्षधरले जिल्लाका १५ वटै पालिका र १३१ वडा कार्यालयमा तालाबन्दी लगायतको कार्यक्रम गर्ने भएपछि सबै पालिकाहरूमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी रिजालको भनाइ छ।
पहिचान पक्षधरहरूले दमक नगरपालिका, दमकै दुई वटा वडा कार्यालय र बुद्धशान्ति गाउँपालिकामा तालाबन्दी गरेका थिए। सबैतिर प्रहरीले ताला फुटाइसकेको बताउँदै उनले भने, ‘अहिले सबै पालिकाहरूमा कामकाज सुचारु छ, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।’ दमकमा ताला फुटाउने क्रममा प्रहरीसँग घम्साघम्सी भएको उनको भनाइ छ।
0 comment