दीपक श्रेष्ठ, काठमाडौं, 

नेपाल प्रहरीका तीन एआईजी मिरा चौधरी, आशा सिंह र किरण बज्राचार्य नेपाल प्रहरीमा पहिलो पटक तीन महिला प्रहरी विशिष्ट श्रेणीमा पुगेका छन्।  सोमबार बढुवा समितिले डीआईजी मीरा चौधरीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। 

यसअघि प्रहरी अस्पताल निर्देशकका रुपमा एआईजी डा. आशा सिंह र गतसाता किरण बज्राचार्य जनपदतर्फ नै एआईजी भएका थिए। प्रहरीको इतिहासमै एकसाथ तीनजना महिला एआईजी कार्यरत रहेको यो नै पहिलो पटक हो। डा. सिंह साढे तीन वर्ष पहिले नै एआईजी भएकी थिइन्।

२०७६ पुस ३ गते अस्पताल प्रमुख डा. दुर्गा थापाले अवकाश पाएपछि सिंह एआईजी भएकी थिइन्।  यता जनपदतर्फ भने पूजा सिंह पहिलो महिला एआईजी हुन्। उनलाई गत गत जेठमा सरकारले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।  तर, उनले एआईजीका रुपमा एक वर्ष पनि काम गर्न पाइनन्। पूजा सिंह गत फागुन ७ गते उमेरहदका कारण अवकाश भएकी थिइन्।  सिंहको अवकाशसँगै नेपाल प्रहरीमा ५ एआईजी रिक्त भएको थियो। रिक्त ५ मध्ये किरण बज्राचार्य पनि बढुवा भएकी थिइन्।  उनी आफ्नो ब्याचबाट प्रहरी नेतृत्वका लागि दाबेदार समेत भइन्। तर सरकारले पहिलो नम्बरमा रहेको वसन्तबहादुर कुँवरलाई आईजीपी बनाएसँगै पहिलो पटक नेतृत्वमा पुग्ने उनको सम्भावना टरेको थियो।  तर ३० वर्षे हटाउने प्रक्रिया सुरु भइसकेकाले उनीहरुमध्येबाटै फेरि आईजीपी बन्ने सम्भावना रहनेछ।

अहिलेकै अवस्थामा पनि किरण र मीरा करिब २ वर्ष प्रहरी सेवामा रहनेछन्। उनीहरु एकसाथ २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन्।  डीआईजीसम्म सँगसँगै बढुवा भएका उनीहरु एआईजी भने ११५ दिनको फरकमा हुने भएका हुन्। मीरालाई अब एकसातापछि सरकारले एआईजीमा बढुवा गर्ने निर्णय गर्नेछ। तत्कालै एआईजी बढुवा गर्नु पर्ने भएकोले यसअघि बढुवा भएका एआईजीहरुको पनि पदस्थापन हुन सकेको छैन। 

किरण बज्राचार्य र मीरा चौधरीसँगै भर्ना भएका थिए । दुर्गा सिंह र किरण राणा भने डीआईजीमै रोकिएका छन् । २०५१ चैत ५ गते एकसाथ चार महिला निरीक्षकमा भर्ना भएका थिए। किरण र मीराभन्दा बढुवामा पछि पर्दै आएका उनीहरुले पनि एआईजी बन्न जोड गरेका थिए। तर सरकारले वरीयताअनुसार एआईजी बढुवा गर्दा उनीहरु भने छुटेक हुन्  ।