काठमाडौं – स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार जिल्लामा आठ बालबालिकामा क्षयरोगको संक्रमण देखिएको छ । 

संक्रमित बालबालिकामध्ये भरतपुर महानगरपालिकामा तीन, रत्ननगर नगरपालिकामा दुई, राप्ती र माडी नगरपालिकामा एक÷एक र इच्छाकामना गाउँपालिकामा एक जना छन् । चौध वर्षमुनिका बालबालिकामा क्षयरोग देखिएको उनले बताए ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा पाँच सय ९२ जनामा क्षयरोग देखिएका तीमध्ये आठ बालबालिका छन् । दुवाडीले बालबालिकामा बढी संख्यामा ग्रन्थी, पेट र आन्द्रामा क्षयरोग देखिने गरेको जानकारी दिए । संक्रमित सबै बालबालिकाले नियमित औषधिको सेवन गरिरहेका छन् । स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवन गर्ने र समय समयमा खकार जाँच गरे क्षयरोग निको हुने उनको भनाइ छ । 

दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खान मन नलाग्नु, छाती दुख्नु, दुब्लाउँदै जानु, खकारमा रगत देखिनु लगायत लक्षण देखिए क्षयरोग भएको हुनसक्ने दवाडीले बताए । यो रोग लागेमा नियमित छ महिना औषधि सेवन गर्नुपर्छ । 

विद्यालय जाँदा, खेल्ने क्रममा समेत बालबालिकामा क्षयरोगको संक्रमण हुने गरेको छ । गत आर्थिक वर्षमा जिल्लामा एक हजार एक सय ९६ मा क्षयरोगको संक्रमण देखिएको थियो । तीमध्ये ३१ बालबालिका थिए । आर्थिक वर्ष २०७७÷७८ मा संक्रमितको संख्या आठ सय ९३ मध्ये १८ जना बालबालिका थिए ।