काठमाडौं - गृहमन्त्रालयका सचिव बिनोद प्रकाश सिंहले आज आइतबार नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई गृहमन्त्रालयमा एक समारोहको आयोजना गरी दर्ज्यानी चिन्ह लगाइ दिनुभयो ।

गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाए पछि बोल्नु हुँदै गृहसचिव सिंहले कानुनी राज्यको मुल अवधारणालाई आत्मसात गर्दै प्रभावकारी अपराध नियन्त्रण, मानवाधिकारको सरक्षण, समाजमा शान्ती स्थापना र स्वच्छ प्रहरी सङ्गठन बनाउन प्रहरी महानिरीक्षक वसन्त कुवर सफल हुनुहुने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

त्यसैगरी गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाए पछि बोल्नु हुँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराधी प्रवृत्ती, अनुचित प्रभाव र दबावको सामु कुनै पनि प्रकारको सम्झौता नहुने बताउनुभयो ।

गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाइ सकेपछी प्रहरी महानिरीक्षक कुँवरले आजै प्रहरी प्रधान कार्यालय पुगि पद बहाली गर्नु भई आफ्नो मातहतका अधिकृतहरुलाई आवश्यक निर्देशन समेत दिनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षकको जिम्मेवारी नपाउँदै कुँवर ३०औं प्रहरी महानिरीक्षक भएका हुन्। चार दिन अघि एआईजीको दर्ज्यानी चिह्न लगाए पनि सरकारले एआईजीमा उनीसहित ५ जनालाई पदस्थापन गरेको थिएन।

केही दिनमै यीनै ५ मध्येबाट आईजीपी बनाउनु पर्ने भएकाले पदस्थापन रोकिएको थियो। ८ महिनादेखि रोकिएको एआईजी बढुवा सरकारले अन्तिम समयमा गरेको हो। गत असारदेखि नै एआईजीको दरबन्दी खालि थियो। रिक्त दरबन्दीको संख्या ५ पुगेपछि सरकारले गत साता मात्रै एआईजी बढुवा गरेको हो। डीआईजीको वरियतालाई कायम गर्दै एआईजी बढुवा गरेको सरकारले कुनै बिबादमा नपरी निष्पक्ष रुपमा पहिलो नम्बरका कुँवरलाई नै आइजीपि बनाएको हो।

वरियता अनुसार आईजीपी बनाएसँगै प्रहरीमा विवाद नहुने भएको छ। यसअघि धिरजप्रताप सिंहलाई आईजीपी बनाउँदाको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो। डेढ वर्षपहिले एआईजी बनेका विश्वराज पोखरेलले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णयविरुद्ध रिट दायर गरेका थिए। सर्वोच्चले सरकारको निर्णयलाई नै सदर गरेसँगै वरियता मिचेर आईजीपी बनाउने बाटो खुलेको थियो। तर आफैँले यसअघिका बढुवामा बनाएको वरियता सरकारले मिचेन र पहिलो नम्बरका कुँवरलाई नै आईजीपी बनायो।

कुँवर यसअघि डीआईजी हुँदा मधेस प्रदेश प्रमुख थिए। कुँवरले शनिबार देखि नै औपचारिक रुपमा आईजीपीको जिम्मेवारी सम्हालेका थिए । गृहसचिव सिंहले दर्ज्यानी चिह्नप्रदान गरेसँगै उनको कार्यकाल सुरु भएको छ। तर उनलाई शुक्रबार नै पुर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जिम्मेवारी हस्तान्तरण गरेर बिदा हुनुभयो।

कुँवरले दुई वर्ष प्रहरी नेतृत्व सम्हाल्नेछन्। ३० वर्षे सेवा अवधिको प्रावधान कायम रहेमा कुँवर २०८१ चैत ४ गतेसम्म आईजीपीमा बहाल हुनेछन्।

यस हिसाबले उनी २०७३ पछि सबैभन्दा लामो अवधि आइजीपि बन्ने अधिकृत हुनेछन्। २०७० मंसीरदेखि २०७३ फागुनसम्म उपेन्द्रकान्त अर्याल तीन वर्ष तीन महीना आईजीपी बनेका थिए। अर्यालपछि कुँवर नै सबैभन्दा लामो कार्यकाल पदमा रहने आईजीपी हुन्।

कुँवरसँगै बढुवा भएका एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको पदस्थापन हुन बाँकी छ। शनिबारदेखि थप ४ एआईजी रिक्त हुने भएकाले सरकारले चाँडै बढुवा गर्नेछ। नेपाल प्रहरीमा जनपदतर्फ ८ एआईजी छन्।