काठमाडौं - नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाखभन्दा बढी रकम बराबरको नक्कली नोट बरामद गरेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गत मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन्। गत मङ्सिरमा तीन जना पक्राउ परेका थिए। प्रहरीले उनीहरूको साथबाट एक हजार दरका २६ हजार र पाँच सय दरको चार हजार पाँच नक्कली नोट बरामद गरेको जनाएको छ।
पुसमा १७ पक्राउ परेका र उनीहरूको साथबाट एक हजार दरको पाँच लाख ३६ हजार बरामद गरिएको थियो। पुसमा पाँच सय, सय र ५० दरका पनि नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ। माघमा एक हजार दरको चार लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।
काठमाडौंको कालोपुलबाट यही चैत १ गते नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले छ लाख ३६ हजार नक्कली नोट बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका-८ घर भएर काठमाडौं बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका-७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
0 comment