काठमाडौं - कास्की जिल्लास्थित ४४ मेगावाटको सुपर मादी हाइड्रो पावर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
कास्कीको मादी गाउँपालिका-१ र २ स्थित सिक्लेस र ताङतिङ गाउँको बीचबाट बग्ने मादी नदीको पानी करीब ६ किलो मिटर लामो सुरुङमार्ग निर्माण गरी ४४ मेगावाट विद्युत् उत्पादन गरिएको छ। पीपीए अनुसार चैत महिनामा १३ मेगावाट विद्युत् उत्पादन गर्ने भनिए पनि हाल १५ मेगावाट मात्र विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको हो।
आयोजनाबाट उत्पादित बिजुली १९ किलोमिटर टाढा रहेको लेखनाथ सबस्टेशनबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो। २०७५ मंसिरमा सुरु भएको आयोजना २०७८ चैत भित्र विद्युत् उत्पादन गर्ने तालिका अनुसार सुरु भएको थियो।
सुरुमा ७ अर्ब ४७ करोड लागतमा सम्पन्न गर्ने योजना बनाएर काम सुरु भएको आयोजना कोरोनाको कारण पूर्ण रुपमा काम गर्न नसक्नु, गत असारमा आएको बाढीले आयोजनामा क्षति पुर्याउनु, बैंकको ब्याजदर बढ्नु निर्माण सामग्रीको मुल्य बढ्नु लगायतका कारण १ अर्ब बढी लागत बढ्नुका साथै आयोजना एक वर्ष ढिला भएको हो। कमजोर भौगोलिक अवस्थाका कारण करिव ८ सय मिटर पेनस्टक पाइप सुरुङ भित्र जडान गरिएको छ। यस्तै कारणले आयोजनाको लागत बढेर करिब ८ अर्ब ७० करोड लागत पुगेको हो।
आयोजनामा २ अर्ब १० करोड इक्विटी र बाँकी पुँजी सानिमा बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र हाइड्रोइलेक्ट्रिीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनि लिमिटेडको लगानी छ। कम्पनीको एक सय दरका २ करोड १० लाख कित्ता सेयर नेपाल स्टक (नेप्से)मा सूचीकृत भएर कारोबारमा आइसकेको छ।
भारतबाट प्रतियुनिट १२ रुपैयाँमा विद्युत् खरिद गर्नुपर्ने अहिलेको अवस्थामा सुपरमादी राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै सहयोग पुग्ने देखिन्छ।
0 comment