काठमाडौं - कोशी प्रदेश नामाकरणविरुद्धको प्रदर्शनमा मृत्यु भएका लाजेहाङ लिम्बुलाई सहीद घोषणा गर्न माग गर्दै किरात राई यायोक्खाले काठमाडौंमा प्रदर्शन गरेको छ।

किरात राई यायोक्खाले शुक्रबार काठमाडौंको माइतिघरमा लाजेहाङ लिम्बुलाई सहीद घोषणा गर्नुपर्ने, लिम्बुको हत्यारालाई कारबाही गर्नुपर्ने लगाएका माग राखेर प्रदर्शन गरेका हुन्। 

प्रदर्शनमा सहभागीहरूले कोशी प्रदेशको नाम खारेज गरी पहिचानसहितको पुनः नामकरण नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। 

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले यही चैत ५ गते विराटनगरमा आयोजना गरेको प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत लाजेहाङ सुक्वाबा लिम्बुको बिहीबार राति निधन भएको थियो।