काठमाडौं - राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको हो।

सोल्टी होटलमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेका हुन्।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभागमार्फत् २५ कार्त्तिकदेखि ९ मंसिरसम्म २०७८ सालको जनगणना संकलन गरेको थियो।

छोरीभन्दा छोरा धेरै

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ। आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२.८ प्रतिशत र छोरी ४७.३ प्रतिशत जन्मिएको पाइएको हो। 

जनगणनाअनुसार एक वर्षको बीचमा कूल ४ लाख १२ हजार ९३५ जना बच्चा जन्मिएका थिए। तीमध्ये २ लाख १८ हजार ७४ जना छोरा र १ लाख ९४ हजार ८६१ छोरी जन्मिएका थिए। 

जनगणनाअनुसार १० वर्षमा १५-४९ वर्षका कूल ६१ लाख ४५ हजार ३९ विवाहित महिलाले हालसम्म १ करोड २७ लाख ९९ हजार ९६९ बच्चा जन्माएका छन्। नेपालमा १५-४९ वर्षका विवाहित महिलामध्ये १२ प्रतिशतले कुनै पनि जीवित बच्चा नजन्माएको पाइएको छ। 

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ६१ लाख ४५ हजार ३९ जना विवाहित महिलामध्ये १२ प्रतिशतले बच्चा नजन्माएको पाइएको छ भने दुई जना जीवित बच्चा जन्माएका महिलाको सङ्ख्या सबैभन्दा बढी ३३ प्रतिशत छ। 

त्यस्तै एक जना मात्र जीवित बच्चा जन्माउने विवाहित महिला २३.१ प्रतिशत छन् भने ९ वा सोभन्दा बढी जीवित बच्चा जन्माउने महिला ०.१ प्रतिशत छ। जीवित जन्मेका बच्चाहरुमध्ये तीन दशमलव दुई प्रतिशतको मृत्यृ भएको पाइएको छ। 

राष्ट्रिय जनगणनामा धेरैजसो व्यक्तिहरु ३४.४ प्रतिशतको पहिलो विवाह १८ देखि २० वर्षको उमेरमा भएको पाइएको छ भने दोस्रोमा १५ देखि १७ वर्षको उमेरमा पहिलो विवाह हुने व्यक्तिहरु २२.३ प्रतिशत छन्। 

दशवर्ष मुनि ०.३ प्रतिशतको विवाह

राष्ट्रिय जनगणनामा १० वर्षमुनि उमेरमा पहिलो विवाह भएका व्यक्तिहरु ०.३ प्रतिशत छन् । यसैगरी १०–१४ वर्ष उमेरमा पहिलो विवाह हुनेहरु ७ प्रतिशत छन् । समग्रमा पहिलो विवाह गर्दाको औसत उमेर १९ वर्ष हुन आउँछ । जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष छ ।

मातृ मृत्युदर १५१ प्रति लाख 

कूल प्रजनन उमेर समूह (१५-४९ वर्ष) का १२ हजार ९७६ महिला मृत्युमध्ये ६५३ जना (५ प्रतिशत) को मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको छ। तीमध्ये ६२२ जना (९५ प्रतिशत) को मृत्यु मातृमृत्युसँग सम्बन्धित रहेको जनगणनामा जनाइएको छ। मातृमृत्यु दर ११ जना (प्रति लाख जीवित जन्ममा) रहेको नतिजाले देखाएको छ।