काठमाडौं – कलाकार कुञ्जना घिमिरे ’सुन्तली’ ले सामाजिक सञ्जालमार्फत आफूलाई नग्न  तस्वीर पठाई मानसिक यातना दिन थालिएको बताएकी छन् । 

भरतपुरमा निर्माणाधीन क्रिकेट रंगशालालाई लिएर उठेको विवादमा आफूलाई मानसिक यातना दिइएको र अब सहन नसकिने उनले लेखेकी छन् । साथै फेसबुकमा एक पोस्ट गर्दै उनले आफूलाई गालीगलौज गरिएको र इन्बक्समा नग्न तस्वीरहरू पठाइएको उल्लेख गरेकी छन् ।

आफ्नो श्रीमान् सीताराम कट्टेल ’धुर्मुस’ ले केही समय धैर्य गर भनेर सान्त्वना दिएपनि यतिका समय सुन्नै नसकिने शब्दहरूका गालीगलौज सहँदै आउँदा अब आफू मानसिक यातनाले विक्षिप्त भएको उनले उल्लेख गरेकी छन् । 

खुलेआम रङ्गशालाको मैदानमा गरियोस् न कि बन्द कोठामा । मलाई मेरो इन्बक्समा नग्न तस्वीरहरु पठाउन सुरुवात भएको छ । उनले लेखेकी छन्, विभिन्न तुच्छ गालीको वर्षात् भइरहेको छ । म पनि मान्छे हुँ, धेरै मन दुःखेको छ राज्य र राष्ट्रसँग । अब सुन्ने र सहने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय ! तर जे गर्छौ छिटो गर, उनले लेखेकी छन् ।