काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहन नहुने बताएका छन् । 

बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा बोल्दै प्रधानमन्त्रीले भने, 'राजश्व छलि नियन्त्रण सम्बन्धि जति पनि नीतिगत व्यवस्था छन्। ती सबैलाई प्रभावकारीरूपमा कार्यान्वयनमा लैजानुपर्छ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्तरूपमा अनुगमन गर्नुहोस्। अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्नुस् । कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस्। सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्।'

उनले आयातका लागि राष्ट्रिय स्टान्डर्ड तयार गरी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउने वातावरण बनाउनुपर्ने बताए। 

'छलफल गर्ने, नीति पनि बनाउने तर कार्यान्वयन नगर्ने परिस्थिति अब रहनु हुँदैन। अनुगमन बोर्डरमा मात्र होइन, आन्तरिक बजारको पनि गर्नेगरी व्यवस्था मिलाउनुस्,' प्रधानमन्त्रीले भने।