काठमाडौं - प्रहरी महानिरिक्षकको रेसमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर भइरहेको बहसप्रति गृह मन्त्रालय र महान्यायाधीवक्ता कार्यालयले चासो व्यक्त गरेका छन् । 

गृह मन्त्रालय स्रोतले प्रहरी महानिरिक्षकका लागि अन्य एआइजी सरह ज्ञवाली पनि योग्य रहेको बतायो । 

नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक जन्ममिती रहेको र सेवा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । उजुरी सम्बन्धमा छानविन गरेको गृहले प्रहरी नियमावलीको तत्कालीन व्यबस्था अनुसार नै ज्ञवाली भर्ना भएको देखिएको निश्कर्ष निकालेको छ । भर्ना हुँदाको समयमा अर्कै व्यबस्था रहेकोमा अहिलेको नियमावलीसँग तुलना गर्नु तर्कसंगत नहुने गृहका ती अधिकारीको भनाइ छ। 

‘कसैले उजुरी गर्दैमा कोही दोषी ठहरिने होइन, महानिरिक्षक नियुक्तिको बेला विबाद निकाल्नु उपयुक्त होइन’ गृह स्रोतले भन्यो ।

डीआइजीबाट एआइजीमा बढुवा भएका पाँचजना भावी आइजीका लागि प्रतिष्पर्धी छन् । पाँच एआइजीले बुधवार महानिरिक्षकबाट दर्ज्यानि लगाएका छन् । महानिरिक्षक धिरजप्रताप सिंह लगायत एआइजीले बुधवार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।