काठमाडौं - प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चैत ५ गते उनीहरुलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् ।

उनीहरुले काठमाडौंको बबरमहल क्षेत्रमा बसेर सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने गरेको अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार बबरमहलका न्यूल्केश श्रेष्ठले आफू नक्कली बन्दै अपरिचित व्यक्तीहरुलाई नेपाली नागरिकता बनाउने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डाकटर मनोज केसिले बताउनु भयो । 

पक्राउ परेका कटवालले विगत १० वर्षदेखि लाइसेन्स र दर्ता विना नै लेखापढी गर्ने कार्य गर्दै आएका थिए। उनले पक्राउ परेका अर्का व्यक्ति हिरालाल सिवाकोटीसमेतको सहयोगमा विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्धविच्छेदजस्ता वडा कार्यालयको सिफारिसलगायतका महत्वपूर्ण कागजात, छाप तथा दस्तखत किर्ते गर्दै आएको प्रहरीको भनाइ छ।

गिरोहले तिबब्बी शरणार्थीलाई नेपाली नागरिकता बनाउन प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयले आजै प्रहरीले डिजिटल अनलाइन वान एक्स बेट जुवा खेलाएको आरोपमा पक्राउ परेका ६ जनालाई पनि सार्वजनीक गरेको छ । प्रहरीको अनुसन्धानले ३५ जनाको नाममा खोलिएको वालेटबाट ४१ करोड १५ लाख रुपैयाँ कारोबार भएको देखाएको प्रमुख केसिले जानकारी दिनुभयो ।